रौतहट । रौतहटमा सामान्य ऋणलाई आधार बनाएर ९१ लाख रुपैयाँको चेक बाउन्स गराई ठगी गर्न खोज्ने साहु र उनका सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही पर्सा गाउँपालिका २ का ३५ वर्षीय विपेन्द्र कुमार साह र सहयोगी जनकपुर उपमहानगरपालिका २१ का दिनेश साह सोनार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी बिष्णु प्रदीप बस्यालले बताए ।
प्रवक्ता बस्यालका अनुसार, गढीमाई नगरपालिका ९ का तारकेश्वर सहनीले घरायसी प्रयोजनका लागि सर्लाहीको पर्सा गाउँपालिका २ निवासी ३५ वर्षीय विपेन्द्र कुमार साहसँग करिब एक वर्षअघि २ लाख ७० हजार रुपैयाँ ऋण लिएका थिए ।
उक्त ऋणको सुरक्षाका लागि उनले लुम्बिनी विकास बैंकको खाली चेकमा हस्ताक्षर गरी दिएका थिए । सहनीले १ वर्षभित्रै विभिन्न मितिमा गरी २ लाख ४० हजार रुपैयाँ फिर्ता गरिसकेपछि बाँकी रकम किस्ताबन्दीमा तिर्ने र चेक फिर्ता दिन आग्रह गरेका थिए । तर, साहुले उल्टै ९१ लाख रुपैयाँ तिर्न बाँकी रहेको भन्दै धम्की दिन थालेका थिए ।
प्रहरीका अनुसार साहुले ९१ लाखको चेक बाउन्स मुद्दामा फसाउने’ धम्की दिँदै पीडितलाई मानसिक दबाब दिएका थिए । पीडितको उजुरीपछि गरिएको अनुसन्धानमा विपेन्द्र कुमार साहले जनकपुर उपमहानगरपालिका २१ का दिनेश साह सोनारसँग मिलेमतो गरी खाली चेकमा अनाधिकृत रूपमा ९१ लाख रुपैयाँ भरी चेक बाउन्स समेत गराईसकेको खुलेको छ ।
उक्त घटनामा संलग्न साहु विपेन्द्र कुमार साह र ठगीमा सहयोगी दिनेश साह सोनारलाई हिजो बुधबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
धेश प्रदेशमा ऋण कर्जा सापटी लिँदा साँवाको तीनगुणा कपाली तमसुक वा चेक लिने प्रायः चलन रहेको छ । तर यसरी कर्जा बापत ऋणीले हस्ताक्षर गरेर सादा चेक दिने घटना कमै मात्रामा देख्न पाइन्छ ।




