रौतहट । भारतीय सीमा सुरक्षा बल एसएसबीले हुण्डी कारोबार नियन्त्रणमा बिशेष सक्रियता देखाएको छ । बाराको ककोरवा नाका हुँदै नेपालबाट ठूलो परिमाणमा रकम लिएर जाँदै गरेका एक नेपालीसहित दुई जनालाई झडौखर स्थित चेक प्वाइन्टमा एसएसबीले नियन्त्रणमा लिएको हो ।
बिहिबार साँझ उक्त नाकाहुँदै भारततर्फ जाँदै गरेका भारतीय नागरिक नरेश कुमार गुप्ता र नेपाली नागरिक जैलाल साह तेलीलाई नियमित जाँचका क्रममा एसएसबीले उनीहरूको ब्याग जाँच गरिएको थियो ।
एसाएसबी मुख्यालय पिपराकोठी का सहायक कमान्डेन्ट बिश्वजित तिवारीका अनुसार जाँचका क्रममा भारत बिहार पूर्विचम्पारण सिकारगन्जका नरेश कुमार गुप्ताको साथबाट नेपाली रुपैयाँ ९ लाख ६३ हजार ६५० र भारतीय रुपैयाँ ७१ हजार ४१० बरामद भएको थियो ।
त्यसैगरी नेपाली नागरिक बारा कलैया उपमहानगरपालिका गालोपटी बजनिका जैलाल साह तेलीको साथबाट नेपाली रुपैयाँ १ लाख १० हजार फेला परेको छ । घटना बारे जानकारी प्राप्त भएपछि एसएसबि ७१ औँ बटालियन अठमोहन कम्पनी इन्चार्ज तथा जितना प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको थियो ।
एसएसबि प्रवक्ता बिनित कुमार सिंहका अनुसार बरामद नगदसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि जितना प्रहरीलाई जिम्मा लगाइएको छ ।




