वीरगंज । विशेष अदालतमा दर्ता भएको भ्रष्टाचार मुद्दामा सरकारी साक्षीले बयान फेरेपछि मुद्दाले नयाँ मोड लिएको छ । नेपाल सरकार वादी र रामशङ्करप्रसाद कुशवाहा समेत प्रतिवादी रहेको उक्त मुद्दामा सरकारी साक्षी दुर्गा भण्डारी (थापा) ले अनुसन्धानका क्रममा दिएको बयानविपरीत अदालतमा बकपत्र दिएको पुष्टि भएको हो ।
अनुसन्धानका क्रममा दुर्गा भण्डारीले आयोगका अनुसन्धान अधिकृतलाई सहयोग गरेको आधारमा उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ अनुसार सजायमा पूर्ण छुट दिई सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएको थियो । तर अदालतमा उनले पूर्वबयानभन्दा फरक कुरा राखेपछि यस विषयमा थप अनुसन्धान अगाडि बढाइएको जनाइएको छ ।
उक्त प्रकरण सर्लाहीको बलरा नगरपालिकाद्वारा सञ्चालित ‘किशोरीहरूका लागि खेलौना बनाउने तालीम’ कार्यक्रममा भएको अनियमिततासँग सम्बन्धित रहेको छ । आरोप अनुसार ३० दिने तालीम कार्यक्रम कागजमा पूरा देखाइए पनि वास्तविकरूपमा भने केवल पाँच दिन मात्र सञ्चालन गरिएको थियो ।
यसरी झूटा विवरण तयार पारेर गैरकानूनी लाभ लिई सार्वजनिक संस्थालाई हानि पु¥याइएको ठहर गर्दै दुर्गा भण्डारी (थापा) विरुद्ध रु तीन लाख ८२ हजार बिगो कायम गरी मुद्दा दर्ता गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) (ङ) तथा दफा २२ अनुसार कसूर ठहर गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।






