सर्लाही । सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा रामबहादुर बम्जनले अदालतबाट सफाइ पाएका छन् । जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले गत ८ वैशाखमा फैसला गर्दै अभियोग पुष्टि हुन पर्याप्त आधार नदेखिएको निष्कर्षसहित बम्जनलाई दोषमुक्त गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गर्दा ठूलो परिमाणमा नगद बरामद भएपछि बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाइएको थियो । त्यसपछि उक्त कसुरमा मुद्दा दायर गरिएको थियो ।
बम्जनमाथि यसअघि बाल यौन दुराचार तथा व्यक्ति बेपत्ता पारेको आरोप सम्बन्धी मुद्दा समेत चलेका थिए । बाल यौन दुराचार सम्बन्धी प्रकरणमा उच्च अदालत जनकपुरले ६ चैत २०८१ मा सफाइ दिएपछि उनी कारागारमुक्त भएका थिए ।
यसअघि जिल्ला अदालत सर्लाहीले १७ असार २०८१ मा बम्जनलाई १० वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उक्त निर्णयविरुद्ध उनले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।




