वीरगञ्ज । वीरगञ्ज महानगरपालिका भित्र सञ्चालित मसाज तथा स्पा सेन्टरहरूको अनुगमनका क्रममा दुई जना नाबालिका फेला परेका छन् । मसाज तथा स्पा सेन्टरको आवरणमा अवाञ्छित गतिविधि भइरहेको गुनासो बढेपछि महानगरपालिकाले गत मंगलबारदेखि व्यापक अनुगमन अभियान सुरु गरेको हो ।
महानगरका नगर प्रहरी इन्चार्ज हरी भुसालका अनुसार भन्सार क्षेत्रबाट सुरु गरिएको अनुगमन क्रमशः महानगरका सबै ३२ वडामा विस्तार गरिनेछ । नेपाल प्रहरीसँगको समन्वयमा नगर प्रहरी टोली परिचालन गरी अनुगमनलाई प्रभावकारी बनाइएको जनाइएको छ ।
अनुगमनका क्रममा सञ्चालक तथा कर्मचारीको विवरण, नाबालिका प्रयोग भए नभएको, सञ्चालन अनुमति, दर्ता प्रक्रिया, कर भुक्तानी, सेवा प्रकृति तथा आचारसंहिताको पालना भए नभएको विषयमा विस्तृत जाँच भइरहेको छ ।
प्रारम्भिक अनुगमनमै दुई स्पा सेन्टरमा नाबालिका प्रयोग भएको पुष्टि भएपछि महानगरले सम्बन्धित व्यवसायीलाई कडा चेतावनी दिए । हालसम्म एक दर्जनभन्दा बढी मसाज तथा स्पा सेन्टरहरूको स्थलगत अनुगमन गरिसकिएको छ, जसमा केही स्थानमा आवश्यक कागजात अपूर्ण र सञ्चालन मापदण्ड विपरीत गतिविधि भेटिएको छ ।
महानगरपालिकाले मापदण्ड नपुर्याउने तथा गैरकानुनी गतिविधिमा संलग्न व्यवसायीमाथि कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पारेको छ । साथै, आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिँदै व्यवसायलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन पहल गरिने जनाएको छ ।




