सर्लाही । बलयबासमा आयोजित रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन् । लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्याण्डको आयोजनामा ईश्वरपुर नगरपालिका ६ मा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहभागी भई ७० जनाले रक्तदान गरेको जानकारी क्लबका अध्यक्ष डा. आलोक कुशवाहाले दिएका छन् । क्लबले विगतदेखि नै स्वास्थ्य शिविर तथा रक्तदानजस्ता सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ ।
रक्तदानलाई जीवनदानका रूपमा लिइन्छ । “रक्तदान, जीवनदान” भन्ने मान्यताअनुसार एक व्यक्तिले दिएको रगतले अर्को व्यक्तिको ज्यान बचाउन महत्वपूर्ण भूमिका खेल्छ । विशेषज्ञहरूका अनुसार नियमित रक्तदानले अरूलाई मात्र होइन, दाताको स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ ।
लायन्स क्लबका सदस्य मुकेश सार्फीका अनुसार ईश्वरपुर नगर अस्पतालमा मिर्गौला (किड्नी) सम्बन्धी डायलाइसिस सेवा सुरु भएसँगै रगतको अभाव हुन नदिन उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
अध्यक्ष कुशवाहाले पछिल्लो समय रक्तदान प्रति जनचेतना बढ्दै गएको बताए । “पहिले डराएर रक्तदान गर्न हिच्किचाउनेहरू अहिले स्वेच्छाले र खुसीसाथ रक्तदान गर्न थालेका छन्,” उनले भने ।
साथै, अझै पनि कतिपय मानिसमा जानकारी अभावका कारण रक्तदानप्रति संकोच रहेकोले थप सचेतना आवश्यक रहेको उनको भनाइ छ । उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटीको बर्दिबास, महोत्तरी शाखाको प्राविधिक सहयोगमा सम्पन्न गरिएको हो ।
कार्यक्रमको उद्घाटन सत्रमा ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्य, ईश्वरपुर उद्योग वाणिज्य संघका प्रतिनिधि, लालबन्दी उद्योग वाणिज्य संघका अध्यक्ष महेश कुमार महतो, सदस्य राहुल चौधरी, गोपाल श्रेष्ठ, रेडक्रस प्रतिनिधिहरू, लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एचका एरिया को-अर्डिनेटर राजकुमार न्यौपाने तथा इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।




