काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (ब.सु.प.) स्थित राजनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशमराज कँडेल समेत विरुद्धको भ्रष्टाचार मुद्दामा भएको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार विद्यालय भवन निर्माण सम्पन्न भएपछि भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस/रिसवत लिएको अभियोगमा प्रधानाध्यापक रेशमराज कँडेल भन्ने रेशमराज कण्डेलसमेतका प्रतिवादीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो ।
उक्त प्रकरणमा रु. ६५ हजार बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम कैद तथा बिगोबराबर जरिवानाको मागसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको थियो ।
तर, विशेष अदालतले २०८२ वैशाख ९ गतेको फैसलाबाट आंशिक सफाइ दिएको थियो । उक्त निर्णय प्रति असन्तुष्टि जनाउँदै आयोगले २०८३ वैशाख २२ गते सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको जनाएको छ ।






