सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अतिक्रमण हटाउने विषयमा कडा निर्देशन जारी गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको निर्णयअनुसार जारी सूचनामा जिल्लाभित्र रहेका सार्वजनिक तथा सरकारी जग्गामा गरिएको अतिक्रमण हटाउन आवश्यक प्रक्रिया अघि बढाउन सबै सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।
प्रशासनले सार्वजनिक जग्गामा बसोबास गरिरहेका व्यक्तिहरूको पहिचान स्थानीय तहबाट यथार्थपरक रूपमा गर्नुपर्ने उल्लेख गरेको छ । वास्तविक सुकुमवासीको पहिचान भएपछि उनीहरूलाई सुरक्षित आवास, स्वास्थ्य, खाद्य तथा अन्य आधारभूत सुविधासहित वैकल्पिक व्यवस्थापन गरिने जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै,अतिक्रमण हटाउने कार्य अघि बढाउँदा आवश्यक सुरक्षा प्रबन्ध मिलाइने र जिल्ला सुरक्षा समितिको समन्वयमा योजना कार्यान्वयन गरिने सूचनामा उल्लेख छ । यसका लागि स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाबीच समन्वय गरी कार्य अगाडि बढाइने बताइएको छ ।
अतिक्रमण हटाउने कार्यको विस्तृत जानकारी आम नागरिकलाई उपलब्ध गराउने र जिल्लाका सबै स्थानीय तहसँग समन्वय बैठक गरी साझा रणनीति तय गरिने पनि प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले कसैलाई पनि असुरक्षित रूपमा विस्थापित नगरी सुरक्षित तथा व्यवस्थित पुनर्स्थापनाको व्यवस्था गरिने स्पष्ट पारेको छ । साथै, यस अभियान सफल बनाउन सबै सरोकारवाला र सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरिएको छ ।




