बारा । जिल्ला प्रहरी कार्यालय, बाराले एकै दिन १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुरेशराज भट्टका अनुसार जिल्लाका विभिन्न पालिकाबाट अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार सूचीमा रहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेहरूमा ११ जना चेक अनादर मुद्दाका र एक जना सवारी ज्यान मुद्दाका प्रतिवादी रहेका छन् । सवारी ज्यान मुद्दाका प्रतिवादीलाई २५ दिन कैद सजाय तोकिएको थियो भने चेक अनादर मुद्दाका ११ जनालाई बारा जिल्ला अदालतले पाँच सयदेखि दुई हजार रुपैयाँसम्म जरिवाना गरेको थियो ।
तर उनीहरूले उक्त जरिवाना नतिरी फरार रहँदै आएका थिए । प्रहरीले विशेष अभियान सञ्चालन गरी कलैया र जीतपुर सिमरा उपमहानगरपालिका, निजगढ तथा महागढीमाई नगरपालिकाका साथै फेटा र प्रसौनी गाउँपालिकाबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कानूनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा पेश गरिएको प्रहरीले जनाएको छ । प्रहरीले फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिने बताउँदै अदालतको आदेश कार्यान्वयनमा कडाइ गरिने जनाएको छ ।




