रौतहट । रौतहट जिल्लाको सदरमुकाम तथा जिल्लाकै सबैभन्दा पुरानो स्थानीय तह गौर नगरपालिका आज पनि अव्यवस्थित सरसफाइ, जीर्ण सडक र कमजोर पूर्वाधारका कारण अस्तव्यस्त बनेको छ । नगरका मुख्य सडक, बजार क्षेत्र तथा गल्लीहरूमा जथाभावी फोहोर थुप्रिन थालेपछि गौरको सुन्दरता दिनप्रतिदिन कुरूप बन्दै गएको स्थानीयवासी बताउँछन् ।
सडकका विभिन्न स्थानमा पानी जम्ने, हिलो हुने तथा ढल निकासको उचित व्यवस्था नहुँदा सर्वसाधारणले दैनिक आवतजावतमा समस्या भोग्नुपरेको छ । विशेष गरी वर्षायाममा सडक जलमग्न हुने समस्या झन् बढ्ने गरेको स्थानीयको गुनासो छ । बजार क्षेत्रमा फोहोर समयमै व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिएको छ भने वातावरणीय प्रदूषण समेत बढ्दै गएको छ ।
स्थानीयवासीका अनुसार वर्षौंदेखि व्यवस्थित सरसफाइ, सडक विस्तार, ढल निर्माण तथा हरियाली प्रवर्द्धनका योजना प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन् ।
एक समय सफा, व्यवस्थित र सुन्दर शहरको परिकल्पना गरिएको गौर अहिले धुलो, हिलो र फोहोरले ग्रसित बन्दै गएको उनीहरूको भनाइ छ । गौर नगरपालिकाभित्र सडक पेटी व्यवस्थापन, फूल तथा हरियाली विस्तार र आधुनिक फोहोर व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने माग स्थानीयले उठाउँदै आएका छन् ।
तर सम्बन्धित निकायको ध्यान पर्याप्त रूपमा नपुगेको आरोप समेत लाग्ने गरेको छ । स्थानीयवासीले समयमै सरसफाइ, ढल निकास र सडक व्यवस्थापनमा ध्यान नदिए गौरको ऐतिहासिक पहिचान र नगरको सौन्दर्य अझ संकटमा पर्ने चेतावनी दिएका छन् ।




