सर्लाही । सर्लाहीको मलङ्गवामा स-साना बालकलाई प्रयोग गरेर सुनचाँदी चोरी गर्ने र उनीहरूका आमाले घरमा लुकाएर राख्ने गरेको घटना सार्वजनिक भएको छ । वैशाख २१ गते मलङ्गवा नगरपालिका ८ स्थित हनुमान टोलमा रहेका राजीव शर्माको घरबाट ठूलो परिमाणमा गरगहना चोरी भएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
अनुसन्धानका क्रममा तीन जना बालक मिलेर चोरी गर्ने र चोरीका सामान आफ्नै घरमा लगेर आमालाई जिम्मा लगाउने गरेको तथ्य खुलेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन बालक र दुई महिलालाई पक्राउ गरेको छ । पक्राउ परेका महिलाहरू ती बालककै आमा रहेको प्रहरीले जनाएको छ । बालकहरूको उमेर ११, १४ र १५ वर्ष रहेको छ ।
उनीहरू यसअघि पनि चोरीको घटनामा संलग्न भई सुधार गृहमा बसेर हालै मात्र छुटेको खुलेको छ । पक्राउ परेका महिलाहरूको उमेर ३५ र ४० वर्ष रहेको बताइएको छ । बालकहरूको परिचय गोप्य राख्नुपर्ने कानुनी व्यवस्थाका कारण प्रहरीले उनीहरू तथा उनीहरूका आमाको नाम सार्वजनिक गरेको छैन ।
सर्लाही प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार पक्राउ परेकाहरूको घरमा खान तलासी गर्दा चोरी भएका विभिन्न गरगहना तथा सामाग्री बरामद गरिएको छ । बरामद सामग्रीमा चाँदीको झुप्पा, सुनको औँठी, चाँदीका बाला, पाउजु, बिछिया, सुनको मङ्गलसूत्र, तिलहरी, कानमा लगाउने सुनका टप, मोती, मोबाइल, बैंकको चेकबुक तथा घडी लगायत रहेका छन् ।
प्रहरीले पक्राउ परेका तीन बालक र दुई महिलाविरुद्ध चोरी तथा डाँका मुद्दामा सर्लाही जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ । मलङ्गवा बजार क्षेत्रमा पछिल्लो समय लगातार चोरीका घटना भइरहेकाले अन्य घटनामा समेत पक्राउ परेका बालकहरूको संलग्नता हुन सक्ने आशंकामा अनुसन्धान जारी रहेको डीएसपी राईले जानकारी दिए ।




