सर्लाही । विद्यालयमा पठनपाठन सञ्चालन भइरहेका बेला युट्युवरहरू प्रवेश गरेर अनावश्यक भिडिओ तथा अन्तर्वार्ता लिन थालेपछि सर्लाहीको लालबन्दी नगरपालिकाले आपत्ति जनाएको छ ।
नगरपालिकाले सार्वजनिक गरेको विज्ञप्तिअनुसार लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युवरहरू बिना अनुमति विद्यालय परिसरमा प्रवेश गरी कक्षा सञ्चालन भइरहेका समयमा भिडिओ सामाग्री तयार गर्ने तथा अन्तर्वार्ता लिने गतिविधि बढेको गुनासो आएको छ ।
नगरपालिकाले यस्ता गतिविधिले शैक्षिक वातावरण प्रभावित हुनुका साथै विद्यालयको नियमित पठन पाठनमा समेत अवरोध पुगेको जनाएको छ । विद्यालय प्रशासन र प्रधानाध्यापकहरूको मनोबल कमजोर हुने तथा शैक्षिक गुणस्तरमा समेत नकारात्मक असर पर्ने देखिएको विज्ञप्तिमा उल्लेख छ ।
नगर प्रमुख वासुदेव अधिकारीले वास्तविक अवस्था नबुझी भ्रामक सामाग्री प्रसारण नगर्न चेतावनी दिएका छन् । उनले बिना अनुमति विद्यालयभित्र प्रवेश गरी गतिविधि सञ्चालन गर्नु गैरकानुनी र दण्डनीय हुन सक्ने स्मरण गराउँदै शान्तिपूर्ण शैक्षिक वातावरण कायम राख्न सबै पक्षलाई सहयोग गर्न आग्रह गरेका छन् ।





