धनुषा । स्थानीय तहले सार्वजनकि जग्गा खाली गर्न भनेपछि धनुषाका सुकुमबासीले आन्दोलन सुरु गरेका छन् । सरकारी कदमविरुद्ध धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा सुकुमबासीले शुक्रबार विरोध प्रदर्शन गरेका हुन् ।
सुकुमबासीले सडकमा टायर बालेर प्रदर्शन गर्दा महेन्द्रनगरस्थित जनकपुर ढल्केवरमा यातायात सेवा समेत प्रभावित बनेको छ । प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले वैकल्पिक व्यवस्था नगरी सुकुमबासीलाई उठिबास गर्न लागेको भन्दै उनीहरुले नाराबाजी गरेका हुन् ।
प्रदर्शनकारीहरुले महेन्द्रनगर पुलमा टायर बालेर सरकारविरुद्ध उग्र नारा लगाएका हुन् । क्षिरेश्वरनाथ नगरपालिकाले सार्वजनिक जग्गा खाली गर्न भन्दै सात दिन म्याद दिएर सूचना निकालेपछि उनीहरू त्रासमा छन् ।
गएको सोमबार नगरपालिकाले सूचना निकालेको थियो । नगरपालिकाले तोकिएको अवधिभित्र अतिक्रमित क्षेत्र खाली नगरे सुरक्षाकर्मीको सहयोगमा हटाइने चेतावनी दिएको छ ।
नगरपालिकाले नेपाल सरकार गृह मन्त्रालयको २०८३ वैशाख १६ गतेको पत्रअनुसार नगरपालिका क्षेत्रभित्र वडा नम्बर १ देखि १० सम्म रहेका अतिक्रमित, अव्यवस्थित तथा जोखिमयुक्त सरकारी र सार्वजनिक जग्गामा निर्माण गरिएका घरटहरा तथा अन्य संरचना सात दिनभित्र खाली गर्न भनेको छ ।
सुकुमबासीको प्रदर्शनको कारण सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख राजाराम यादवले जानकारी दिए ।
प्रदर्शनकारीले शुक्रबार बिहान ७ बजेदेखि ८ बजेसम्म जनकपुर–ढल्केवर सडकखण्ड अवरुद्ध गरेका हुन् । आज सांकेतिक रुपमा प्रदर्शन गरिएको र माग पूरा नभएसम्म आन्दोलन जारी रहने सुकुमबासीका अगुवाहरुले बताएका छन् ।




