रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा राष्ट्रिय भूमि अधिकार मञ्च जिल्ला कार्यसमिति रौतहटले आइतबार प्रदर्शन गरेको छ । भूमि र आवासको अधिकार सुनिश्चित गर्न माग गर्दै भूमिहीन तथा सुकुम्बासी परिवारहरूले प्रदर्शन गरेका हुन् ।
डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरबाट सुरु भएको र्याली बजारका विभिन्न भाग परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो । प्रदर्शनका क्रममा सहभागीहरूले “भूमि हाम्रो अधिकार हो”, “डोजर आतङ्क बन्द गर”, “सुकुम्बासीलाई आवास सुनिश्चित गर” लगायतका नारा लगाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए ।
कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय भूमि अधिकार मञ्च रौतहटका जिल्ला अध्यक्ष अनुप माझीले सरकारको डोजर अभियानका कारण भूमिहीन तथा सुकुम्बासी परिवार त्रासमा परेको बताए ।
उनले वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकलाई जबरजस्ती हटाउने कार्य मानवअधिकारविपरीत भएको दाबी गर्दै भने, “राज्यले हाम्रो भूमि अधिकार हनन गर्न मिल्दैन । हाम्रो आवासको अधिकार सुनिश्चित हुनुपर्छ ।”
कार्यक्रममा वक्ताहरूले वास्तविक भूमिहीन तथा सुकुम्बासीको पहिचान गरी सुरक्षित बसोबास र लालपुर्जा वितरणको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेका छन् ।
भूमि र आवासको अधिकार सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने चेतावनीसमेत सहभागीहरूले दिएका छन् । उनीहरूले भूमिहीन समुदायको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारसँग ठोस नीति ल्याउन आग्रह गरेका छन् ।




