सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका ५ मेजरगन्ज झिरझिरेमा मधेश प्रदेश सरकारको १५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको किरियापुत्री भवन प्रयोगमा नआउँदै जीर्ण अवस्थामा पुगेको छ । चार वर्षअघि झिरझिरे जरुवा किनारमा निर्माण गरिएको उक्त भवन अहिले बेवारिसे बनेको स्थानीयवासीले बताएका छन् ।
स्थानीयका अनुसार भवन लामो समयदेखि प्रयोगविहीन रहँदै आएको छ भने अहिले यो लागुऔषध सेवनकर्ताको अखडा र असामाजिक गतिविधिको केन्द्र बनेको गुनासो छ । भवनका झ्याल–ढोका तोडफोड हुनुका साथै केही सामग्री चोरीसमेत भएको स्थानीयको भनाइ छ ।
मेजरगन्जकी स्थानीय गायत्री महत थापाले ऐतिहासिक झिरझिरे जरुवा क्षेत्र पनि संरक्षणको अभावमा डम्पिङ साइटमा परिणत भएको बताए । उनका अनुसार किरियापुत्री भवनसँगै रहेको उक्त क्षेत्र अहिले फोहोर फाल्ने स्थान बनेको छ, जसका कारण वातावरणीय समस्या बढ्दै गएको छ ।
थापाले नगरपालिकामा पटक–पटक डेलिगेसनमार्फत ध्यानाकर्षण गराए पनि कुनै ठोस पहल नभएको गुनासो गरे । “हामीले टोल सुधार समितिमार्फत नगरपालिकामा जानकारी गरायौँ, तर अहिलेसम्म कुनै सुनुवाइ भएको छैन,” उनले भने ।
स्थानीयका अनुसार भवन निर्माण भएदेखि अहिलेसम्म एकपटक पनि प्रयोगमा आएको छैन । परिवार सदस्यको मृत्यु भएपछि १३ दिनको किरिया संस्कारका लागि उपयोग गर्ने उद्देश्यले बनाइएको भएपनि भवन उपयोगविहीन रहँदा जीर्ण बनेको हो ।
राज्यको ठूलो लगानी भएपनि संरचना उपेक्षाको कारण फजुल खर्च भएको स्थानीयको आरोप छ । लालबन्दी नगरपालिका ५ का वडाध्यक्ष मीनप्रसाद ढुङ्गेल ९रामु० ले आफू निर्वाचित हुनुअघि नै भवन निर्माण भएको बताउँदै हाल यसको अवस्थाबारे विस्तृत जानकारी नभएको प्रतिक्रिया दिए ।
उनले भवनलाई अन्य प्रयोजनमा प्रयोग गर्न सकिने अवस्था पनि कठिन देखिएको उल्लेख गरे । यस्तै, झिरझिरे जरुवाबाट सिँचाइ हुने लालबन्दी ३ जब्दी क्षेत्रका किसानहरू पनि फोहोरका कारण प्रभावित भएको बताएका छन् ।
बाह्रै महिना पानी आउने उक्त स्रोत अहिले प्रदूषणका कारण संकटमा परेको किसानहरूको भनाइ छ । यसैबीच, बस्तीपुर जरुवापानी क्षेत्र पनि संरक्षण अभावमा फोहोर फाल्ने स्थान र लागुऔषध दुर्व्यसनीको थलो बन्दै गएको स्थानीयले बताएका छन् ।
जरुवापानी मुहान संरक्षण समितिका अध्यक्ष केशव पोखरेलले एकान्त क्षेत्र भएकाले संरक्षण चुनौतीपूर्ण बनेको बताए । उनका अनुसार रातको समयमा स्थानीयकै मिलेमतोमा फोहोर फाल्ने तथा केही व्यक्तिहरूले तोडफोड गर्ने गतिविधिले समस्या झन् बढाएको छ ।




