पर्सा । वीरगञ्ज महानगरपालिका १६ क्षेत्रबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बहदुरामाई नगरपालिका ६ गमहरिया टोलका २९ वर्षीय बिरजु साह तुरहा रहेका छन् ।
आइतबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्ज र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना २१ प ३५८४ नम्बरको मोटरसाइकलमा सवार रहेका तुरहालाई जाँच गर्ने क्रममा उनको साथबाट ७७० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको थियो ।
बरामद लागूऔषधसहित उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।






