रौतहट । वीरगन्जबाट चोरी गरिएको मोटरसाइकल चलाएर रौतहटको मौलापुरमा पैदलयात्रीलाई ठक्कर दिई फरार भएका युवकलाई रौतहट प्रहरीले ७२ घण्टाभित्रै पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ३ निवासी २३ वर्षीय जाविर अन्सारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार विशेष अनुसन्धान र प्रविधिको प्रयोगबाट फरार अभियुक्तलाई नियन्त्रणमा लिन सफलता मिलेको हो ।
गत २२ गते बिहान करिब ११:४० बजे मौलापुर बजारको आईटी चौक क्षेत्रमा हरनहियाबाट मौलापुरतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०२७ प ७५७५ नम्बरको मोटरसाइकलले स्थानीय २० वर्षीया सुनिता कुमारीलाई ठक्कर दिएको थियो । दुर्घटनामा उनी गम्भीर घाइते भएकी थिइन् ।
घटनापछि चालक मोटरसाइकल घटनास्थलमै छोडेर फरार भएका थिए । प्रहरीले मोटरसाइकलको विवरण खोजतलास गर्दा उक्त सवारी वीरगन्ज महानगरपालिका नगवा निवासी ३१ वर्षीय रमेश कुमार पटेलको रहेको खुलेको थियो ।
अनुसन्धानका क्रममा सो मोटरसाइकल सोही दिन बिहान करिब ५ बजे नगवा चौकबाट चोरी भएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रहरी चौकी नगवामा निवेदन परेको समेत फेला परेको प्रहरीले जनाएको छ ।
त्यसपछि रौतहट प्रहरीले सम्भावित भाग्ने नाका, बाटो र स्थानहरूको निगरानी बढाउँदै प्रविधि तथा हुलियाको विश्लेषणका आधारमा खोजी अभियान सञ्चालन गरेको थियो । सोही क्रममा घटनाको तीन दिनपछि अर्थात् २५ गते बंकुल नहर चौकबाट जाविर अन्सारीलाई पक्राउ गरिएको प्रहरीको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हाल अभियुक्त जिल्ला प्रहरी कार्यालय रौतहटको नियन्त्रणमा रहेको र उनीविरुद्ध सवारी ज्यान तथा चोरी मुद्दामा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डीएसपी बस्यालद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।






