काठमाडौं । अर्घाखाँचीको पाणिनी गाउँपालिका ८ दुर्गाफाँट कुडुलेमा मंगलबार बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् । पर्वत जिल्लाबाट अर्घाखाँचीको सुपा देउराली मन्दिर दर्शनका लागि आएको ग १ ध ५०४ नम्बरको बस फर्कने क्रममा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिवसबहादुर जिसीले दुर्घटनाको पुष्टि गर्दै उद्धार कार्य जारी रहेको बताए । दुर्घटना लगतै स्थानीय बासिन्दा र प्रहरीको टोली उद्धारमा खटिएको पाणिनी गाउँपालिकाका पूर्वअध्यक्ष अच्युत गौतमले जानकारी दिए ।
घाइतेहरूलाई थप उपचारका लागि पाल्पा र अर्घाखाँचीका विभिन्न अस्पतालमा पठाउने काम भइरहेको छ । प्रहरीले घटनाको विस्तृत विवरण र मृतकको पहिचान खुलाउन बाँकी रहेको बताएको छ ।






