सर्लाही । सर्लाहीमा हेल्मेट नलगाउने, तीव्र गतिमा सवारी चलाउने तथा ट्राफिक नियम उल्लङ्घन गर्ने प्रवृत्तिका कारण सवारी दुर्घटना बढ्दै गएको छ ।
पछिल्लो एक साताभित्र भएका छुट्टाछुट्टै दुर्घटनामा दुई मोटरसाइकल चालक र एक साइकलयात्रीको मृत्यु भएपछि जिल्लामा सडक सुरक्षा प्रति गम्भीर चिन्ता बढेको छ ।
मङ्गलबार साँझ बरहथवा–मधुवनी सडकखण्ड अन्तर्गत रामनगर गाउँपालिका ५ बैजनाथ चोकमा भएको मोटरसाइकल दुर्घटनामा भारतको सीतामढी निवासी ३५ वर्षीय गौरव पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ज ७ प २६१३ नम्बरको मोटरसाइकल चलाइरहेका पटेलले हेल्मेट नलगाएको र मोटरसाइकल तीव्र गतिमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार साँघुरो ‘वान वे’ कल्भर्ट पार गर्ने क्रममा चालकले नियन्त्रण गुमाउँदा मोटरसाइकल सिमेन्टको बारमा ठोक्किँएको थियो ।
दुर्घटनामा कल्भर्टको बार समेत भत्किएको इलाका प्रहरी कार्यालय गडहियाले जनाएको छ । घटनास्थल पुगेको प्रहरी टोलीले गौरव पटेललाई टाउको र अनुहारमा गम्भीर चोट लागेको अवस्थामा फेला पारेको थियो ।
कानबाट रगत बगिरहेको अवस्थामा रहेका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि सवार भारतकै २३ वर्षीय उज्वल पटेल गम्भीर घाइते भएका छन् ।
उनी अचेत अवस्थामा भेटिएका थिए र हाल भारतको सीतामढीस्थित एक अस्पतालको आईसीयूमा उपचाररत रहेको सर्लाही प्रहरीले जानकारी दिए ।
स्थानीयवासीका अनुसार दुवै जना गडहिया चोकस्थित एक होटलमा खाजा खाएर निस्किने क्रममा दुर्घटनामा परेका हुन् । उनीहरूले होटलकै मोटरसाइकल मागेर चलाएका थिए ।
यसअघि गत बिहिबार बिहान हरिपुर्वा नगरपालिका ९ खीला गाउँनजिक बाँके–सङ्ग्रामपुर सडकमा बस र मोटरसाइकल ठोक्किँदा महोत्तरीको गौशाला नगरपालिका १२ कान्तिबजार निवासी २७ वर्षीय मनिषकुमार महतोको मृत्यु भएको थियो । प्रहरीले उनी पनि हेल्मेटबिना मोटरसाइकल चलाइरहेको जनाएको छ ।
त्यसैगरी, गत आइतबार साँझ ईश्वरपुर नगरपालिका २ राइटरखोरमा तीव्र गतिमा रहेको भारतीय नम्बर प्लेटको मोटरसाइकलले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका ६५ वर्षीय किसुनदेव साहको ज्यान गएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक अशोक साहले दुर्घटनामा परेका अधिकांश चालकसँग लाइसेन्स नभएको र हेल्मेट समेत प्रयोग नगरेको पाइएको बताए ।
प्रहरी निरीक्षक साहका अनुसार ग्रामीण क्षेत्रमा एकै मोटरसाइकलमा तीनदेखि चार जनासम्म चढ्ने, हेल्मेट प्रयोग नगर्ने र प्रहरी देख्नेबित्तिकै भाग्ने प्रवृत्ति बढ्दो छ । उनले साँझपख हुने अधिकांश दुर्घटनामा मादक पदार्थ सेवनको आशंका पनि रहेको बताए ।
नागरिक समाज सर्लाहीका अगुवा तथा पूर्व शिक्षक रजनीकान्त झाले लाइसेन्सबिना सवारी चलाउने र हेल्मेट नलगाउनेमाथि कडा कारबाही आवश्यक रहेको बताए । ट्राफिक प्रहरीले जिल्लामा सडकको कमजोर अवस्थाले पनि दुर्घटना बढाएको जनाएको छ ।
महेन्द्र राजमार्ग विस्तारका क्रममा विभिन्न स्थानमा पुल तथा कल्भर्ट निर्माण भइरहेको तथा वर्षाका कारण भित्री सडक जीर्ण बनेकाले सवारी सञ्चालन थप जोखिमपूर्ण बनेको प्रहरीको भनाइ छ ।






