सप्तरी । सप्तरी जिल्ला प्रहरीले विभिन्न तीन वटा मुद्दामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामाथि अभद्र व्यवहार, आत्महत्या दुरुत्साहन तथा लागुऔषध सम्बन्धी मुद्दाका आरोप रहेको प्रहरीले जनाएको छ ।
अभद्र व्यवहार मुद्दामा राजविराज नगरपालिका ६ निवासी ४३ वर्षीय फिरोजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले २०८३ वैशाख ९ गते राजविराज ७ स्थित एक सिटी सप अगाडि चप्पल–बक्सामाथि मोटरसाइकल चढाएको विषयमा विवाद हुँदा गालीगलौज तथा कुटपिट गरेको आरोप छ ।
घटना पछि फरार रहेका उनलाई राजविराज ६ स्थित राम मन्दिर अगाडिबाट पक्राउ गरिएको हो । जिल्ला प्रशासन कार्यालय सप्तरीबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै आत्महत्या दुरुत्साहन मुद्दामा गणेशमान चारनाथ नगरपालिका ८ निवासी २३ वर्षीय अमितकुमार यादव पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार २०८२ चैत १४ गते तिलाठी कोइलाडी गाउँपालिका ४ निवासी मनिषाकुमारी मण्डलले विषादी सेवन गरेपछि उपचारका क्रममा सोही दिन उनको मृत्यु भएको थियो ।
यादवले टिकटक लाइभमार्फत अश्लील तथा अपमानजनक गालीगलौज गरेको भिडियो सार्वजनिक गरेको कारण मानसिक तनावमा परी मण्डलले विषादी सेवन गरेको भन्दै चन्दनकुमार मण्डल धानुकले जाहेरी दिएका थिए ।
सोही आधारमा मुद्दा दर्ता गरी यादवलाई गणेशमान चारनाथबाट पक्राउ गरिएको हो । सप्तरी जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी लागुऔषध मुद्दामा कञ्चनरुप नगरपालिका ९ निवासी ३१ वर्षीया मनिरेखा कुमारी यादवलाई पक्राउ गरिएको छ । उनको साथबाट ३.३२ ग्राम ब्राउन सुगर र १६२.२ ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई सप्तरी जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।




