रौतहट । रौतहटको सदरमुकाम गौर–चन्द्रपुर निर्माणाधीन ४ लेन सडकलाई गौर बजारभित्र थप विस्तार गर्ने ऐतिहासिक निर्णय भएको छ । अब उक्त सडक गौर नगरपालिका ५ स्थित नेपाल रेडक्रस सोसाइटीको उत्तर क्षेत्रसम्म विस्तार गरिने भएको हो ।
गौर नगरपालिकाको आह्वानमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले व्यापक छलफलपछि हाल घण्टाघरसम्म सीमित रहेको ४ लेन सडकलाई सिँचाइ कार्यालयको पूर्वी क्षेत्र हुँदै रेडक्रसको उत्तरसम्म विस्तार गर्ने सहमति जुटाएको जनाएको छ ।
मेयर शम्भु साहका अनुसार यो निर्णयले गौर बजारको यातायात व्यवस्थापन, बजारको सौन्दर्यीकरण तथा दीर्घकालीन शहरी विकासमा नयाँ गति थप्ने अपेक्षा गरिएको छ ।
वर्षौंदेखि चर्चामा रहेको सडक विस्तारको विषयमा राजनीतिक दल, नागरिक समाज र स्थानीय सरोकारवालाबीच सहमति जुट्नु गौरको विकासका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
बैठकमा गौर नगरपालिकाका मेयर शम्भु साह, राजदेवीका पूर्व मेयर तथा नेपाली कांग्रेस नेता धिरेन्द्र सिंह, नागरिक समाजका अध्यक्ष जगन्नाथ प्रसाद केसरी, समाजसेवी रेबन्त झा, अनिल सिंह, विकास विक्रान्त नेपाल (पालु) रहेका थिए ।
यस्तै उद्योग वाणिज्य संघका अध्यक्ष रवीन्द्रनाथ गोपाली, सन्तोष केसरी, ज्येष्ठ नागरिक संघका अध्यक्ष विजयकिशोर झालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी तथा सामाजिक संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
छलफलमा सहभागीहरूले गौरको व्यवस्थित शहरीकरण र भविष्यको यातायात चापलाई व्यवस्थापन गर्न ४ लेन सडक विस्तार अपरिहार्य रहेको धारणा राख्दै योजनालाई साझा सहकार्यबाट सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।




