सिरहा । सिरहामा गोली हानी हत्या गरेको घटनामा सिरहा प्रहरीले एक जना पूर्व शिक्षकलाई पक्राउ गरेको छ । माघ १६ गते दिउँसो करिब साढे ३ बजेको समयमा सिरहा नगरपालिका ७ स्थित बाँसघारीमा सिरहा १ बस्ने ४२ वर्षीय प्रेमनाथ यादवलाई अज्ञात व्यक्तिहरुले गोली हानी हत्या गरेका थिए ।
उक्त घटनामा तीन महिनापछि प्रहरीले एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहा १ बस्ने ५२ वर्षीय पूर्व शिक्षक उपेन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार मृतकको परिवारसँग अभियुक्त यादवको विगत चार वर्षदेखि पारिवारिक विषयमा रिसीइबी र मनमुटाव रहेको थियो ।
सोही कारण मानसिक रुपले चिन्तत भई बदला स्वरुप भारतीय अपराधीहरुको सहयोग लिएर ३ लाखको सुपारी डिलमा हत्या गराएको खुलेको हो । पक्राउ परेका यादवले १ लाख तत्काल एडभान्स स्वरुप दिएका थिए भने दुई लाख अझै दिन बाँकी रहेको खुलेको हो ।
प्रवक्ता पालले यस घटनाको अनुसन्धानको क्रममा बीटीएस, ८० जनाको सीडीआर, सोधपुछ तथा घटना विवरण कागज, शंकास्पद व्यक्तिको पोलिग्राफ टेष्ट गर्नुका साथै केन्द्रीय अनुसन्धान व्युरोबाट पविधिक विज्ञसहितको टोलीको सहयोग, प्रदेश प्रहरी कार्यालय वीरगञ्जको सहयोग तथा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामको निर्देशनमा विभिन्न कोणबाट अनुसन्धान गरिएको थियो ।
प्रवक्ता पालले उक्त घटनामा भारतीय अपराधीहरुको संलग्नता भएको प्रवल आशंका देखिएपछि शंकीत मोबाईलको नम्बरहरुको सुक्ष्म विश्लेषण गरी तत्काल १ जना भारतीय नागरिक सहित ३ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।
यस घटनाका अभियुक्त यादवले अपराध स्वीकार गरेको तथा संलग्न अन्य भारतीय अपराधीहरुको समेत पहिचान भइसकेकाले खोज तलास जारी रहेको प्रहरीले जनाएका छन् ।
यस्तै, गत वर्ष माघ ४ गते रातिको समयमा औरही गाउँपालिका ५ जितिया मन्दिरभित्र सोही मन्दिरका पुजारी स्थानीय ५५ वर्षीय श्याम सुन्दर शर्मालाई टाउको पछाडी गोली प्रहार गरी गम्भीर घाइते भएको घटनामा समेत एक जना पक्राउ परेका छन् ।
औरही ५ बस्ने ५५ वर्षीय हरि ठाकुरले आफ्नो पारिवारिक रिसिईबीको कारण भारतीय सुटरलाई ५० हजार दिई ज्यान मार्ने उदेश्यले गोली प्रहार गराएको खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।






