रौतहट । भारतीय कुखुराको अवैध आयातका कारण स्थानीय किसान धराशायी बन्दै गएको भन्दै रौतहटका कुखुरा व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । तस्करी नियन्त्रण गर्न माग गर्दै गौरमा जिल्ला कुखुरा व्यवसाय किसान संघको नेतृत्वमा विरोध प्रदर्शन गरिएको हो ।
“किसानलाई सास्ती, तस्करलाई मस्ती” भन्ने नारासहित निकालिएको र्याली घन्टाघरस्थित मुख्य चौकीबाट सुरु भई जिल्ला प्रशासन कार्यालयसम्म पुगेको थियो । प्रदर्शनका क्रममा किसानहरूले हातमा कुखुरा बोकेर बजार परिक्रमा गर्दै तस्करीविरुद्ध चर्का नाराबाजी गरेका थिए ।
प्रदर्शनकारीहरूको आरोप अनुसार केही व्यापारीहरूले भारतबाट सस्तो मूल्यमा कुखुरा भित्र्याएर गोदाममा भण्डारण गर्ने र त्यसलाई नेपाली उत्पादन देखाउँदै बजारमा बिक्री गर्ने गरेका छन् । यस्तो गतिविधिले स्वदेशी उत्पादनको बजार संकुचित भएको तथा किसानहरू आर्थिक संकटमा परेको उनीहरूको भनाइ छ ।
जिल्ला कुखुरा व्यवसाय किसान संघका सचिव राधेश्याम साहले रौतहट कुखुरा तस्करीको मुख्य केन्द्रजस्तै बनेको दाबी गरेका छन् । “तस्करी नरोकिए यहाँका किसान व्यवसाय नै छोड्न बाध्य हुन्छन्,” उनले भनेका छन् ।
संघका अध्यक्ष उमाशंकर साह का अनुसार तस्करी नियन्त्रणको माग गर्दै पटक–पटक प्रशासनलाई ज्ञापनपत्र बुझाइए पनि प्रभावकारी कदम चालिएको छैन । र्यालीपछि किसानहरू जिल्ला प्रशासन कार्यालय अगाडि करिब एक घण्टा धर्नामा बसेका थिए ।
उनीहरूले सीमा क्षेत्रमा कडा निगरानी, अवैध आयात नियन्त्रण तथा स्वदेशी किसानको संरक्षण गर्न माग गरेका छन् । किसानहरूले अवैध व्यापार रोक्न नसके स्थानीय कुखुरा व्यवसाय पूर्ण रूपमा धराशायी हुने चेतावनी दिएका छन् । प्रशासनले भने विषय गम्भीर रहेको भन्दै आवश्यक पहल गरिने आश्वासन दिए ।




