वीरगञ्ज । हरि खेतान बहुमुखी क्याम्पसका प्रमुख किशोरी रायमाथि दुर्व्यवहार तथा हातपात गर्दै कालोमोसो दल्ने प्रयास भएको घटना सार्वजनिक भएपछि क्याम्पस क्षेत्रमा तनाव सिर्जना भएको छ । करार सेवामा कार्यरत चार जना शिक्षकलाई सेवाबाट हटाउने निर्णयपछि विवाद चर्किएको हो ।
क्याम्पसले यही वैशाख २१ गतेदेखि लागु हुने गरी लालकिशोर प्रसाद पटेल, रबिन्द्र कुमार यादव, पूजा गुप्ता तथा दिलिप कुमार पण्डितको करार सेवा अन्त्य गरेको जनाएपछि सुनियोजित रुपमा क्याम्पस प्रमुख राय विरुद्ध षड्यन्त्र रचिएको बताइएको छ ।
सेवा अन्त्यको निर्णयप्रति असन्तुष्टि जनाउँदै सम्बन्धित पक्षले क्याम्पसमा ताला लगाए । क्याम्पस प्रमुख रायले पटक–पटक ताला खोल्न आग्रह गरेपनि नमानेपछि विवाद उग्र बनेको क्याम्पस प्रशासनले जनाए ।
विवादकै क्रममा केही व्यक्तिले क्याम्पस प्रमुख रायमाथि कालोमोसो दल्ने प्रयास गर्नुका साथै हातपात समेत गरेको क्याम्पस सञ्चालक समितिको आरोप छ । घटनापछि क्याम्पस परिसर केही समय तनावग्रस्त बनेको थियो । घटना बारे थप अनुसन्धान तथा आवश्यक छलफल भइरहेको जनाइएको छ ।




