सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका ५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटाको चाङ भत्किँदा तीन मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रबार साँझ करिब ६ बजे इँटा निकाल्ने क्रममा अचानक चाङ खसेपछि मजदुरहरू पुरिएका थिए । घटनालगत्तै स्थानीय र प्रहरीले उद्धार कार्य सुरु गरेका थिए ।
मृत्यु हुनेहरूमा गौडेता नगरपालिका ७ रामवनका ५० वर्षीय फिताई मन्सुर, गौडेता नगरपालिका ९ का ३५ वर्षीय शम्भु राउत तथा भारतको लखिमपुर निवासी ३५ वर्षीय अंगद कुमार रहेका छन् ।
घाइते अवस्थामा प्रादेशिक अस्पताल मलंगवा पुर्याइएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए । घटनामा मलंगवा नगरपालिका ७ का ३२ वर्षीय तुलसी महतो र ५२ वर्षीय सत्यनारायण महतो घाइते भएका छन् ।
तुलसी महतोको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ भने सत्यनारायण महतोको स्थानीय क्लिनिक मजुर्वामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै जनाको अवस्था सामान्य रहेको बताइएको छ ।
प्रहरीका अनुसार घटनाको जानकारी साँझ करिब ६:३० बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरिपुरबाट टोली खटिएको थियो । प्रहरीले तत्काल उद्धार गरी घाइतेहरूलाई अस्पताल पठाएको जनाएको छ ।
हाल घटनास्थलमा जेसीबी प्रयोग गरेर इँटा तथा माटो हटाउने काम जारी रहेको छ । प्रहरीका अनुसार उक्त इँटा उद्योग कौडेना बजार निवासी वीरेन्द्र चौधरीको स्वामित्वमा रहेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




