सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न आपराधिक क्रियाकलाप र मुद्दामा संलग्न रहेको आरोपमा ५ जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध ओसारपसार, अभद्र व्यवहार र सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
यसै क्रममा प्रहरीले एक सय ४१ किलो गाँजासहित बिहीबार दुई जनालाई पक्राउ गरेको छ । पूर्व-पश्चिम राजमार्गको खडक नगरपालिका वडा नम्बर ५ रन्जितपुर खण्डमा सवारी चेकजाँचका क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
धरानबाट लहानतर्फ जाँदै गरेको को १ च २६६७ नम्बरको पिकअप भ्यानलाई शङ्का लागेर खानतलासी गर्दा भित्र लुकाएर राखिएको १४ पोकामा कुल एक सय १४१ किलो गाँजा फेला परेको उनले बताए ।
पक्राउ पर्नेमा धनकुटाका साङगुरी गढी गाउँपालिका वडा नम्बर १ का ३३ वर्षीय महा प्रसाद लिम्बु र मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ का ४७ वर्षीय बल बहादुर लिम्बु रहेका छन् ।
पिकअप भ्यान सहित उहाँहरुलाई नियन्त्रणमा लिई अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । त्यस्तै सवारी ज्यान मुद्दामा विगत ८ महिनादेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
२०८२ असोज १६ गते खडक नगरपालिका वडा नम्बर ११ मा दुई वटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा चालकहरु चिन्तामणी चौधरी र सोभिन कुमार चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो ।
सोही दुर्घटनामा संलग्न रही फरार रहेका खडक नगरपालिका वडा नम्बर १० का २६ वर्षीय शिभामणी चौधरीलाई प्रहरीले लुकिछिपी बसेको अवस्थामा बेल्हाबाट पक्राउ गरेको हो । उनलाई ६ दिनको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको छ ।
यस्तै अग्निसाईर कृष्णसवरण गाउँपालिका वडा नम्बर ६ मा गुडिरहेको गाडी रोकी सिसा फुटाउने र गालीगलौज गरी अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँपालिका वडा नम्बर ६ का ३० वर्षीय सन्तोष मण्डल र ३३ वर्षीय संजय चौधरी रहेका छन् ।
राजेन्द्र प्रसाद साहको जाहेरीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयबाट ४ दिनको म्याद थप गरि अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक पुरीले बताए ।




