सप्तरी । सप्तरीमा विवाहको प्रलोभन दिई पटक–पटक करणी गरेको घटनामा एक युवकलाई सात वर्ष कैद र ३ लाख रुपैयाँ क्षतिपूर्ति तिराउन अदालतले आदेश दिएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर थापा क्षेत्रीको इजलासले महादेवा गाउँपालिका ४ डाढा टोल बस्ने २१ वर्षीय अजय कुमार साहलाई उक्त आदेश दिएको हो ।
गएको फागुनमा फैसला सुनाइएको भएपनि फैसलाको पूर्णपाठ भने हालैमात्र सार्वजनिक भएको छ । २०८२ वैशाख ११ गते दर्ता भएको मुद्दामा सातौँ पेशीमा गत फागुन १७ गते अदालतले फैसला सुनाएको थियो । साहले विवाहको प्रलोभन देखाएर २०८१ चैत ८ गते साँझको समयमा आफ्नो छोरीलाई आफ्नो घरमा बोलाएर रातिको समयमा इच्छा विपरीत पटक–पटक जबरजस्ती करणी गरेको भन्दै पीडितका अभिभावकले जाहेरी दरखास्त दिएका थिए ।
युवकले पीडित र आफूबीच टिकटकको माध्यमबाट चिनजान भएको र दुवै जनाबीच प्रेम भई विवाह गर्नेसम्म सहमति भएको बयान दिएका थिए । युवकले विवाह गर्छु भनि पीडितकै सहमतिमा करणी गरेको बयान दिएका थिए । तर पीडितले आफूलाई फोन गरेर बोलाएर जबरजस्ती करणी गरेको र आफू रोई कराई गर्दा साहले विवाह गर्ने भन्दै फकाई सोही राति सोही ठाउँमा छोडेर फरार भएको बयान दिएकी छन् ।
अदालतमा भने साहले जाहेरवालालाई नचिनेको तर पीडित भनिएकी युवतीलाई टिकटकमा साथी भएकाले चिनेको भन्दै आफूले जबरजस्ती करणी नगरेको भन्दै इनकारी बयान दिए । उनले इनकारी बयान गरेपनि अनुसन्धानको क्रममा बयान गर्दा पटक पटक विवाह गर्छु भनी पीडितकै सहमतिमा करणी गरेको, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन र परीक्षण गर्ने विशेषज्ञ चिकित्सकको बकपत्रले जबरजस्ती करणी भएको पुष्टि भएको अदालतको ठहर छ ।




