रौतहट । चर्को गर्मी । पसलभरि ग्राहकको चाप । कम्प्युटर चलिरहेको बेला अचानक बत्ती जाने । केही सेकेन्डपछि फेरि आउने, अनि पुनः जाने । पछिल्लो समय गौर, चन्द्रपुर लगायत रौतहटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्तिमा भइरहेको यस्तै अनियमितताले जनजीवन मात्रै होइन, स्थानीय अर्थतन्त्र समेत प्रभावित हुन थालेको छ ।
स्थानीयवासीका अनुसार दिनहुँ पटक–पटक हुने ‘झ्याप–झ्याप’ विद्युत् कटौतीले घरायसी कामदेखि व्यापार व्यवसायसम्म संकटमा परेको छ । केही मिनेटको अन्तरालमै लाइन जाने र आउने समस्याले विद्युतीय उपकरणमा क्षति पुग्नुका साथै व्यवसाय सञ्चालनमा समेत समस्या भइरहेको व्यवसायीहरूको भनाइ छ ।
विशेष गरी होटल, रेस्टुरेन्ट, फोटो स्टुडियो, मोबाइल मर्मत केन्द्र, डेरी उद्योग, फर्निचर उद्योग, वेल्डिङ पसल, प्रेस उद्योग, कुखुरा फार्म, पानी उद्योग, आइसक्रिम तथा कोल्ड स्टोर व्यवसाय बढी प्रभावित बनेका छन् । लगातार विद्युत् अवरोध हुँदा उत्पादन रोकिएको, सामान बिग्रिएको र ग्राहक गुम्न थालेको व्यवसायीहरूले गुनासो गरेका छन् ।
स्थानीय व्यवसायीहरूका अनुसार अत्यधिक गर्मीका बेला घण्टौँसम्म लाइन अवरुद्ध हुँदा वैकल्पिक व्यवस्था गर्न नसक्ने साना व्यवसाय धराशायी हुने अवस्थामा पुगेका छन् । “लोडसेडिङ अन्त्य भएको भनिए पनि व्यवहारमा अझै समस्या उस्तै छ,” एक व्यवसायीले गुनासो गरे ।
विद्यार्थीहरू पनि विद्युत् समस्याबाट उत्तिकै प्रभावित बनेका छन् । अनियमित विद्युत् आपूर्तिका कारण रातिको अध्ययन प्रभावित भएको अभिभावकहरू बताउँछन् । इन्टरनेट सेवा अवरुद्ध हुने, मोबाइल चार्ज गर्न समस्या हुने तथा अनलाइन कामकाज समेत प्रभावित बन्न थालेको छ ।
स्थानीयवासीले नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको चन्द्रनिगाहपुर शाखा प्रति असन्तुष्टि जनाउँदै व्यवस्थापन कमजोर भएको आरोप लगाएका छन् । उनीहरूले बारम्बार मर्मत, बुस कटिङ तथा प्राविधिक कामको नाममा लाखौँ रुपैयाँ खर्च हुने गरेपनि सेवा सुधार नदेखिएको बताएका छन् ।
“हरेक वर्ष मर्मतको काम भएको भनिन्छ, तर सामान्य हावाहुरी र गर्मीमै लाइन अस्थिर हुन्छ,” स्थानीयको गुनासो छ । वितरण केन्द्रहरूमा हुने सम्भावित अनियमितता र संस्थागत भ्रष्टाचारतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग समेत उठ्न थालेको छ ।
विद्युत् जस्तो अत्यावश्यक सेवामा भइरहेको लापरबाहीले जिल्लाको आर्थिक गतिविधिमा नकारात्मक असर परेको स्थानीयको भनाइ छ । उद्योग व्यवसायदेखि शिक्षा र दैनिक जीवनसम्म प्रभावित भइरहँदा समस्या समाधानका लागि दीर्घकालीन र प्रभावकारी कदम चाल्नुपर्ने माग चर्किँदै गएको छ ।




