रौतहट । रौतहट जिल्लाको स्वास्थ्य क्षेत्रमा एउटा ठुलो र ऐतिहासिक सफलता मिलेको छ । जिल्लाकै अग्रणी स्वास्थ्य संस्था चन्द्रपुर अस्पताल प्रा.ली. मा पहिलो पटक नवजात शिशुको फोक्सोको विकास नभएको जटिल अवस्थामा गरिने विशेष उपचार प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।
समय अगावै (प्रि-म्योचर) जन्मिएका वा जन्मनासाथ फोक्सोको पर्याप्त विकास नभएर गम्भीर अवस्थामा पुगेका नवजात शिशुका लागि आवश्यक पर्ने अत्यन्तै संवेदनशील र जटिल ‘सर्फेक्टेन्ट एडमिनिस्ट्रेशन प्रोसिजर’ चन्द्रपुर अस्पतालमा पहिलो पटक सफलतापूर्वक गरिएको हो ।
अस्पतालका प्रख्यात तथा अनुभवी बालरोग विशेषज्ञ डा. श्याम बाबु साहको प्रत्यक्ष नेतृत्वमा यो उपचार प्रक्रिया सम्पन्न भएको छ । जन्मिएलगत्तै शिशुले श्वास फेर्न गम्भीर कठिनाइ भोगिरहेको र फोक्सो खुम्चिएको अवस्थामा डा. साहसहितको दक्ष पेडियाट्रिक (बालरोग) टोलीले तत्कालै उपचारमा खटीएको अस्पतालका प्रमुख डा. सुवास चौधरीले बताए ।
उनका अनुसार नवजात शिशुको फोक्सोलाई पूर्ण रूपमा खुलाउन र श्वासप्रश्वास प्रणालीलाई सामान्य अवस्थामा फर्काउन यो कृत्रिम तरल पदार्थ (सर्फेक्टेन्ट) लाई सिधै शिशुको श्वास नलीमार्फत फोक्सोमा पठाउनु पर्ने हुन्छ ।
यो अत्यन्तै संवेदनशील प्रक्रिया मानिन्छ, जसमा थोरै मात्र असावधानी भएमा शिशुको ज्यान जान सक्ने जोखिम रहन्छ । तर, डा. साह सहित अस्पतालको नवजात शिशु सघन उपचार कक्षको टिमको अथक प्रयासका कारण यो उपचार पूर्ण रूपमा सफल भएको उनले जानकारी दिए ।
यस ऐतिहासिक र सफल उपचार पश्चात चन्द्रपुर अस्पताल प्रशासनले बालरोग विशेषज्ञ डा. श्याम बाबु साह र उपचारमा खटिएका सम्पूर्ण नर्सिङ स्टाफ तथा पेडियाट्रिक टिम प्रति विशेष धन्यवाद एवं हार्दिक आभार प्रकट गरेको छ । अस्पतालले यस कार्यलाई आफ्नो टिमको सामूहिक दृढता र उत्कृष्ट नर्सिङ केयरको परिणाम भएको बताएको छ ।
यसअघि रौतहट जिल्लामा यस्तो जटिल समस्या भएका नवजात शिशुहरू फेला पर्दा थप उपचारका लागि वीरगन्ज, चितवन वा काठमाडौंका महँगा अस्पतालहरूमा रेफर गर्नुपर्ने बाध्यात्मक अवस्था थियो । बाटोमै शिशुको ज्यान जाने जोखिम र आर्थिक भार बेहोर्नुपर्ने जिल्ला बासीको बाध्यता अब अन्त्य हुने भएको छ ।
चन्द्रपुर अस्पतालमा यो सेवा सफलतापूर्वक सुरुवात भएसँगै जिल्लामै नवजात शिशु उपचार सेवामा नयाँ आशा र ठुलो विश्वास थपेको छ । अब स्थानीय स्तरमै जटिल प्रकृतिका शिशुहरूको ज्यान जोगाउन सकिने सुनिश्चितता बढेको छ, जसले समग्र रौतहट र आसपासका जिल्लाका सर्वसाधारणलाई ठुलो राहत मिल्ने विश्वास गरिएको छ ।




