सर्लाही । सर्लाहीमा ट्रक र स्कार्पिओ आपसमा ठोक्किँदा ८ जना यात्रु घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गमा पर्ने बागमती नगरपालिका ४ मा प्रदेश २–०३–००१ क १३७६ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको डीएल ४ सीएनबी ६२०० नम्बरको भारतीय स्कारपियो आपसमा ठोक्किँएका हुन् ।
इलाका प्रहरी कार्यालय हरिवनका अनुसार दुर्घटनामा घाइते हुने सबै स्कार्पिओका यात्रु हुन् । दुर्घटनामा स्कारपियो चालक कविलासी नगरपालिका ८ का ५७ वर्षीय जयपाल राय पनि घाइते भएका छन् ।
घाइते हुनेहरुमा स्कारपियोमा सवार ब्रह्मपुरी गाउँपालिका ४ त्रिभुवननगर बस्ने ५८ वर्षीय शिवशंकर हलुवाइ, उनकी श्रीमती ५७ वर्षीया पुनम देवी, छोरा ३४ वर्षीय सोनुप्रसाद, सोनुकी श्रीमती ३३ वर्षीया अञ्जली देवी, सोनुका छोरा नौ वर्षका कन्हैया र पाँच वर्षका किसन, शिवशंकरका अर्का छोरा ३० वर्षीय मनोज हलुवाई रहेका छन् ।
घाइते हुने चालकबाहेकका सात जना एकै परिवारका सदस्य भएको प्रहरीले जनाएको छ । घाइतेको बागमती मोडेल अस्पताल कर्मैयामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख एवम् प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले जानकारी दिए ।






