महोत्तरी । महोत्तरीको मनरासिस्वा नगरपालिका ७ सरपल्लोमा खोलामा डुबेर तीन बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय विरेन्द्र भण्डारीकी छोरीहरू १३ वर्षीया स्नेहा भण्डारी र ६ वर्षीया शिवानी भण्डारी तथा अजीज नदाफकी छोरी अफ्साना खातुन रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार विद्यालयबाट घर फर्किएपछि साथीहरूसँग नुहाउन गएका तीनै जना बालिका अंकुशी र जंघा खोलाको दोभानमा डुबेका हुन् ।
घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा उनीहरूलाई उद्धार गरी प्रादेशिक अस्पताल जलेश्वर पुर्याइएको थियो । तर चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका मुद्दा शाखाका प्रहरी निरीक्षक विश्वम्भरनाथ साहका अनुसार घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्य गरेको थियो ।
हाल मृतक बालिकाको मुचुल्का उठाउने काम भइरहेको तथा पोस्टमार्टमपछि शव परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ । स्थानीयका अनुसार स्नेहा र अफ्साना मुनिलाल माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत मिल्ने साथी थिए ।
विद्यालयबाट फर्किएपछि उनीहरू खोलामा नुहाउन गएका बेला स्नेहाकी कान्छी बहिनी शिवानी पनि पछ्याउँदै पुगेकी थिइन् । स्नेहाकी हजुरआमा मरनी देवीका अनुसार घरमा चिया खाएपछि दुवै साथी नुहाउन जाने भन्दै घरबाट निस्किएका थिए ।
“सधैं घरकै धारामा नुहाउने बच्चाहरू आज एक्कासि खोलातिर गएछन्,” उनले भनिन्, “नुहाउने क्रममा खुट्टा चिप्लिएर खोलाको गहिरो खाल्डोमा परेपछि उनीहरू डुबेका हुन् ।” घटनापछि गाउँमा शोक छाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।






