सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका १७ रानीगन्जस्थित कालिन्जोरखोलाबाट सम्झौताभन्दा बढी मात्रामा नदीजन्य पदार्थ उत्खनन गरिएको पाइएको छ । नापजाँचका क्रममा ठेक्का सम्झौताभन्दा करिब १९ हजार घनमिटर बढी गिट्टी बालुवा निकालिएको खुलेपछि सम्बन्धित निर्माण कम्पनीलाई जरिबाना गरिएको छ ।
स्थानीयवासीले अनियन्त्रित उत्खनन भइरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएपछि नगरपालिकाले प्राविधिक टोली खटाएर उत्खनन क्षेत्रको स्थलगत नापजाँच गरेको थियो । सो क्रममा निर्धारित परिमाणभन्दा बढी नदीजन्य पदार्थ उत्खनन गरिएको पुष्टि भएको लालबन्दी नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेलका अनुसार कालिन्जोरखोलाका तीन वटा नाकाबाट चालु आर्थिक वर्ष २०८२/८३ का लागि नदीजन्य पदार्थ उत्खनन गर्ने जिम्मा कुण्डलिनी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि, कमलामाई ६ सिन्धुलीले पाएको थियो ।
नगरपालिका र कम्पनीबीच २०८२ पुस ९ गते सम्झौता भएको थियो । सम्झौताअनुसार उत्खनन गर्न पाउने परिमाण सकिइसकेपछि जेठ ४ गतेदेखि उत्खनन कार्य बन्द गरिएको नगरपालिकाले जनाएको छ । तर त्यसपछि गरिएको प्राविधिक परीक्षणमा थप १९ हजार घनमिटर नदीजन्य पदार्थ निकालिएको भेटिएपछि कम्पनीलाई एक लाख २० हजार रुपैयाँ जरिबाना गरिएको हो ।
नगरपालिकाको राजस्व शाखाका प्रमुख गोपाल थापाका अनुसार अतिरिक्त उत्खनन गरिएको नदीजन्य पदार्थ बापत कम्पनीले करिब ४४ लाख रुपैयाँ थप राजस्वसमेत बुझाउनु पर्नेछ ।
जेठ मसान्तसम्म उत्खननको अनुमति भएपनि सम्झौताअनुसारको परिमाण पहिले नै निकालिसकेको पाइएपछि करिब एक महिनाअघि नै उत्खनन रोकिएको थियो । उत्खनन बन्द गरिएको जानकारी जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, डिभिजन वन कार्यालय तथा सुरक्षा निकायलाई समेत पठाइएको नगरपालिकाले जनाएको छ ।
उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्राविधिक टोलीले समेत एक साताअघि स्थलगत निरीक्षण गरेको थियो । त्यसपछि नगरपालिका कार्यालयले थप अनुगमन र नापजाँच प्रक्रिया अघि बढाएको हो ।
उत्खनन रोक्न निर्देशन दिइएपछि पनि काम जारी राखिएको पाइएपछि उत्खननमा प्रयोग भएका दुई वटा टिप्पर नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको नगरपालिकाको राजस्व शाखाले जनाएको छ ।




