रौतहट । जिल्ला प्रहरी कार्यालय, रौतहटले विभिन्न मुद्दामा फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाएको जनाएको छ । फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत जेठ ७ गते खटिएको प्रहरी टोलीले फैसला कार्यान्वयनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये चेक अनादर, कुटपिट तथा अन्य आपराधिक मुद्दामा संलग्न व्यक्तिहरू रहेका छन् । पक्राउ परेकामध्ये केहीलाई कैद सजाय तथा केहीलाई जरिवाना तोकिएको थियो । पक्राउपछि सबै प्रतिवादीलाई रौतहट जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, रौतहटले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन विशेष अभियान सञ्चालन गरिएको जनाएको छ । प्रहरीका अनुसार फरार अपराधी नियन्त्रण तथा कानून कार्यान्वयनलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिइनेछ ।
प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई अझ प्रभावकारी बनाउँदै समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अदालतका फैसला कार्यान्वयनमा सहयोग पुर्याउने उद्देश्य रहेको जनाएको छ ।




