वीरगंज । नयाँ शैक्षिकसत्र सुरु भएसँगै वीरगंज महानगर क्षेत्रका निजी विद्यालयहरूले विभिन्न शीर्षकमा चर्को शुल्क असुल्न थालेपछि अभिभावकहरू आर्थिक दबाबमा परेका छन् ।
सरकारले अनावश्यक शुल्क नलिन तथा स्थानीय तहलाई नियमित अनुगमन गरी कारबाही गर्न निर्देशन दिएको भएपनि प्रभावकारी निगरानी नहुँदा निजी विद्यालयहरू मनपरी ढंगले शुल्क उठाउन उद्यत रहेको गुनासो बढ्दो छ ।
अभिभावकहरूका अनुसार निजी विद्यालयहरूले वार्षिक शुल्कबाहेक प्रविधि शुल्क, स्मार्ट क्लास शुल्क, परीक्षा शुल्क, क्रियाकलाप शुल्क, व्यवस्थापन शुल्क र सुरक्षा शुल्क लगायत विभिन्न शीर्षकमा अतिरिक्त रकम लिने गरेका छन् ।
कतिपय विद्यालयले भर्नाकै समयमा एकमुष्ट रूपमा ठूलो रकम माग गर्ने गरेको आरोप समेत लागेको छ । अभिभावकहरूले विद्यालयबाट आउने शुल्कको विवरण हेर्दा परिवारको आर्थिक अवस्था नै संकटमा पर्ने अवस्था सिर्जना भएको बताएका छन् ।
शुल्क बारे स्पष्ट जानकारी लिन खोज्दा विद्यालय प्रशासनले चित्तबुझ्दो जवाफ नदिने तथा अभिभावकलाई बारम्बार झुलाउने गरेको गुनासो पनि गरिएको छ । नेपालको शिक्षासम्बन्धी कानुनी व्यवस्था अनुसार विद्यालयले शुल्क वृद्धि गर्नु अघि अभिभावकसँग छलफल गरी सहमतिका आधारमा मात्रै शुल्क निर्धारण गर्नुपर्ने प्रावधान छ ।
साथै, स्थानीय तहलाई विद्यालयहरूको शुल्क संरचनामाथि नियमित अनुगमन गरी नियमविपरीत शुल्क लिने संस्थामाथि कारबाही गर्न निर्देशन दिइएको छ । तर वीरगंज महानगरपालिकासहित पर्साका अधिकांश स्थानीय तहले प्रभावकारी अनुगमन नगरेको आरोप अभिभावकहरूको छ ।
सरकारी निर्देशन कार्यान्वयन नहुँदा निजी विद्यालयहरू झन् निर्बाध रूपमा अतिरिक्त शुल्क असुल्न उत्साहित भएको उनीहरूको भनाइ छ । यता, महानगरपालिकाको शैक्षिक महाशाखाले निजी विद्यालयहरूको शुल्कसम्बन्धी गुनासो बढ्दै गएको स्वीकार गर्दै लिखित उजुरी प्राप्त भए आवश्यक अनुसन्धान गरी कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ ।




