रौतहट । रौतहटको गरुडा नगरपालिका ७ मा एक महिलामाथि घरमै प्रवेश गरी निर्घात कुटपिट गरिएको घटना सार्वजनिक भएपछि स्थानीय समुदायमा आक्रोश फैलिएको छ ।
श्रीमान वैदेशिक रोजगारीका लागि विदेशमा रहेका बेला भएको उक्त घटनालाई स्थानीयले गम्भीर सामाजिक तथा कानुनी अपराधका रूपमा लिँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।
पीडित पक्षका अनुसार जेठ ७ गते राति करिब ८ बजेतिर महिलाले विदेशमा रहेका श्रीमानसँग फोनमा कुरा गरिरहेकै बेला छिमेकी बाबुछोरा घरभित्र प्रवेश गरेका थिए । त्यसपछि उनीहरूले महिलामाथि हातपात गर्दै घरबाहिर तानेर कुटपिट गरेको आरोप लगाइएको छ ।
घटनाको दृश्य पीडित महिलाका नाबालक छोराले मोबाइलमा कैद गरेका छन् । स्थानीयका अनुसार मदिरा सेवन गरेको अवस्थामा पुरुष सदस्य नभएको घरमा प्रवेश गरी महिलामाथि आक्रमण गर्नु अत्यन्त गम्भीर र अमानवीय कार्य हो ।
घटनापछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएपनि केही समयमै रिहा गरिएको भन्दै स्थानीयले इलाका प्रहरी कार्यालय गरुडाको भूमिकामाथि प्रश्न उठाएका छन् । पीडकलाई तत्काल छाडिएको घटनाले पीडित परिवार थप त्रसित बनेको स्थानीयको भनाइ छ ।
कुटपिटबाट घाइते भएकी महिलाको गरुडास्थित एक निजी अस्पतालमा उपचार भइरहेको छ । पारिवारिक स्रोतका अनुसार उनको शरीरका विभिन्न भागमा चोट पटक तथा कुटपिटका डाम देखिएका छन् ।
घटना सार्वजनिक भएसँगै स्थानीयवासीले निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनअनुसार कडा कारबाही गर्न माग गरेका छन् । प्रहरीसँग प्रतिक्रिया लिन खोजिए पनि सम्बन्धित अधिकारीसँग सम्पर्क हुन नसकेको जनाइएको छ ।




