जनकपुरधाम । संविधान जारी भएपछि मधेश प्रदेशको राजनीतिमा निरन्तर प्रभाव कायम राख्दै आएका मधेश केन्द्रित दलहरू पहिलोपटक पूर्ण रूपमा सत्ताबाहिर पुगेका छन् । कांग्रेस नेतृत्वको मधेश सरकारबाट जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरू बाहिरिएसँगै मधेश प्रदेश सरकारमा अब कुनै पनि मधेशवादी दल सहभागी छैनन् ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवले बिहीबार जसपा नेपालका तीन मन्त्रीलाई पदमुक्त गरेपछि एमाले सरकारमा सहभागी भएको छ । भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ता, श्रम तथा यातायात मन्त्री मनिष सुमन तथा शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीलाई बर्खास्त गरिएको हो ।
यसअघि वैशाख २१ गते जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसपछि जनमतबाट सरकारमा रहेका अर्थमन्त्री महेशप्रसाद यादव र खेलकुद तथा समाजकल्याण मन्त्री वसन्त कुशवाहाले पनि पद छाडेका थिए । यससँगै मधेश प्रदेशमा मधेशवादी दलको सत्ता यात्रा अन्त्य भएको छ ।
२०७४ सालको पहिलो प्रदेश निर्वाचनपछि तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालको सहकार्यमा मधेशमा पहिलो सरकार बनेको थियो । लालबाबु राउत नेतृत्वको त्यो सरकार लामो समयसम्म टिक्न सफल भयो । त्यसयता सरकार गठन र परिवर्तन भइरहे पनि मधेश केन्द्रित दलहरू कुनै न कुनै रूपमा सत्तामा रहँदै आएका थिए ।
प्रदेश नम्बर २ लाई ‘मधेश प्रदेश’ नामकरण गराउन पनि यिनै दलहरूको निर्णायक भूमिका थियो । तर २०७९ को दोस्रो प्रदेश निर्वाचनपछि मधेशवादी दलहरूको शक्ति कमजोर बन्दै गयो । जसपा, जनमत र लोसपाले उल्लेख्य सिट ल्याए पनि स्पष्ट बहुमत जुटाउन सकेनन् ।
त्यसपछि मधेशमा पटक–पटक सत्ता समीकरण फेरियो । जसपाका सरोजकुमार यादव नेतृत्वको सरकार १७ महिनापछि ढल्यो । त्यसपछि जनमत पार्टीका सतीशकुमार सिंह मुख्यमन्त्री बने । तर जनमतभित्रै विवाद चर्किएपछि उनको सरकार पनि टिक्न सकेन ।
पछि लोसपाका जितेन्द्र सोनल मुख्यमन्त्री नियुक्त भए पनि विश्वासको मत जोगाउन नसक्दा उनको कार्यकाल छोटो रह्यो । त्यसपछि एमाले संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री बनेका थिए । विवादित बनेको त्यो सरकार २१ दिनमै ढलेपछि कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री बने ।
हाल कांग्रेस, एमाले र माओवादी केन्द्रको नयाँ समीकरण बनेसँगै मधेश केन्द्रित दलहरू प्रतिपक्षमा सीमित भएका छन् । जसपा नेता मनिष सुमनले अब प्रतिपक्षमा बसेर सरकारलाई गुण र दोषका आधारमा समर्थन वा विरोध गर्ने बताएका छन् । उनका अनुसार अहिलेको गठबन्धन स्वाभाविक नभई राजनीतिक समीकरणको परिणाम हो ।
राजनीतिक विश्लेषकहरूका अनुसार मधेशवादी दलहरू एजेन्डाभन्दा सत्ताकेन्द्रित राजनीतिमा बढी अल्झिएका कारण जनविश्वास गुमाउँदै गएका हुन् । सुशासन, विकास र जनअपेक्षाअनुसार काम गर्न नसक्दा उनीहरूको प्रभाव कमजोर बन्दै गएको विश्लेषण भइरहेको छ ।






