वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा लामो समयदेखि नेपाल टेलिकमको मोबाइल नेटवर्क अवरुद्ध हुने समस्या समाधान गर्न स्थानीय युवाहरूले नेपाल टेलिकमको क्षेत्रीय कार्यालय वीरगञ्जमा ज्ञापनपत्र बुझाएका छन् ।
ठोरीका युवा सामाजिक अभियन्ता धिरसिंह घिमिरेको नेतृत्वमा पुगेको टोलीले क्षेत्रीय कार्यालयका निर्देशक श्रीभद्र घिमिरेलाई ज्ञापनपत्र हस्तान्तरण गर्दै नेटवर्क समस्याको दीर्घकालीन समाधान गर्न माग गरेको हो ।
ज्ञापनपत्रमा सामान्य वर्षा हुँदा समेत नेपाल टेलिकमको मोबाइल नेटवर्क पूर्ण रूपमा अवरुद्ध हुने गरेको उल्लेख गरिएको छ । यसका कारण स्थानीयवासी फोन, इन्टरनेट तथा अन्य सञ्चार सेवाबाट पटक–पटक वञ्चित हुनुपरेको गुनासो गरिएको छ ।
स्थानीयका अनुसार करिब एक दशकअघि टेलिकमको टावर निर्माण गरिए पनि सेवा गुणस्तरमा अपेक्षित सुधार हुन सकेको छैन । कमजोर नेटवर्कका कारण ठोरीका २० हजारभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा प्रभावित भइरहेका अभियन्ता घिमिरेले बताए ।
नेटवर्क समस्याले दैनिक जनजीवनसँगै व्यवसाय, शैक्षिक गतिविधि, बैंकिङ कारोबार, अनलाइन सेवा तथा आकस्मिक अवस्थासमेत प्रभावित हुँदै आएको स्थानीयको भनाइ छ । उनीहरूले तत्काल प्राविधिक अध्ययन गरी स्थायी समाधान निकाल्न, उपकरण स्तरोन्नति गर्न तथा आवश्यक स्थानमा थप टावर जडान गर्न माग गरेका छन् ।
ठोरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रयास भइरहेका बेला कमजोर सञ्चार सेवाले नकारात्मक प्रभाव पारिरहेको भन्दै गुणस्तरीय र भरपर्दो सेवा सुनिश्चित गर्न टेलिकमसँग आग्रह गरिएको छ ।
ज्ञापनपत्र बुझाउन गएको टोलीमा माधव बस्नेत, हिरा श्रेष्ठ, हिमाल कुँवर, राजकुमार कोइरालालगायत युवाहरूको सहभागिता रहेको थियो ।




