काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा काठमाडौं-तराई-मधेस द्रुतमार्ग आयोजनाका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
संघीय संसद्को संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले द्रुतमार्ग निर्माणलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिए ।
उनका अनुसार आगामी आर्थिक वर्षभित्र आयोजना अन्तर्गत ४० वटा पुल निर्माण तथा ५.४ किलोमिटर सुरुङ निर्माण गर्ने लक्ष्य सरकारले लिएको छ । बजेट वक्तव्यमा द्रुतमार्गसँग जोडिने लिङ्क रोड निर्माणको काम पनि आगामी वर्षबाट सुरु गरिने उल्लेख गरिएको छ ।
काठमाडौंलाई तराई–मधेससँग छोटो दूरीमार्फत जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको द्रुतमार्गलाई देशको आर्थिक तथा व्यापारिक गतिविधिसँग जोडेर हेरिएको छ । सरकारले आयोजना निर्माणलाई तीव्रता दिने लक्ष्यसहित बजेट व्यवस्था गरेको जनाएको छ ।




