पश्चिम नवलपरासी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले पत्रकार केशव पराजुलीको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग गर्न सबैमा हार्दिक अपिल गरेको छ ।
महासंघका कार्यवाहक अध्यक्ष विकास अधिकारीद्वारा जारी अपिलमा जिल्ला अध्यक्ष तथा वरिष्ठ पत्रकार केशव पराजुली लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित भई उपचाररत रहेको उल्लेख गरिएको छ ।
पत्रकारिता र सामाजिक सेवामा समर्पित पराजुलीको स्वास्थ्य उपचारका लागि सहयोग आवश्यक भएकाले पत्रकार, सञ्चारकर्मी, विभिन्न संघ–संस्था तथा शुभेच्छुकहरूलाई आर्थिक सहयोग गर्न आग्रह गरिएको छ ।
अपिलमा पत्रकारको जीवन समाजसँग प्रत्यक्ष रूपमा जोडिएको सार्वजनिक जीवन भएकाले कठिन परिस्थितिमा रहेका पत्रकारलाई साथ र सहयोग गर्नु सम्पूर्ण समाजको दायित्व भएको उल्लेख गरिएको छ । पराजुलीलाई पुन: स्वस्थ बनाई सक्रिय पत्रकारितामा फर्काउन सानो सहयोग पनि महत्वपूर्ण आधार बन्न सक्ने महासंघको भनाइ छ ।
सहयोग गर्न इच्छुक व्यक्तिहरूलाई प्रभु बैंक परासी शाखामा रहेको केशव प्रसाद पराजुली र उनकी धर्मपत्नी सावित्रा पराजुलीको खातामा रकम जम्मा गर्न अनुरोध गरिएको छ । सहयोग गर्ने व्यक्तिहरूको नाम सार्वजनिक गरिने तथा रकम जम्मा गरेपछि विवरण उपलब्ध गराउन पनि महासंघले आग्रह गरेको छ ।







