रौतहट । रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव गम्भीर बन्दै गएको छ । अस्पताललाई ५० शय्याबाट १०० शय्यामा स्तरोन्नति गरिएको वर्षौं बितिसक्दा पनि आवश्यक जनशक्ति र उपकरण नपुग्दा सेवा विस्तार प्रभावकारी बन्न सकेको छैन ।
अस्पतालमा दरबन्दी भएका धेरै चिकित्सक तथा कर्मचारी विभिन्न कार्यालय र संस्थामा काजमा खटाइएका कारण सीमित जनशक्तिले अस्पताल धानिरहेको अवस्था छ ।
अस्पताल सञ्चालनको जिम्मेवारी सम्हालिरहेका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. मुरारी ठाकुरका अनुसार नवौँ तहका पाँच र आठौँ तहका दुई चिकित्सक अस्पतालबाहिर कार्यरत छन् । यसले बिरामीको उपचार र सेवा व्यवस्थापन दुवैमा दबाब बढाएको छ ।
दैनिक दुईदेखि तीन सयसम्म बिरामी पुग्ने अस्पतालमा अहिले उपलब्ध चिकित्सकले नियमित सेवा सञ्चालन गर्न नै कठिनाइ भोगिरहेका छन् । कतिपय अवस्थामा एउटै चिकित्सकले बिहानदेखि रातिसम्म निरन्तर सेवा दिनुपर्ने अवस्था सिर्जना भएको छ ।
चिकित्सक मात्र होइन, मेडिकल रेकर्डर सुपरभाइजर, फिजियोथेरापिस्ट, जनस्वास्थ्य अधिकृत तथा अनमीसमेत अन्यत्र काजमा रहेका छन् । यी कर्मचारीहरू हाल मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालय धनुषा लगायत निकायमा कार्यरत छन् ।
अस्पताल प्रशासनले पटक–पटक काज फिर्ताको पहल गरे पनि अपेक्षित परिणाम प्राप्त हुन सकेको छैन । जनशक्ति अभावकै कारण अस्पतालले उपलब्ध गराउनुपर्ने धेरै सेवा प्रभावित भएका छन् ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अवधेश यादवका अनुसार पछिल्ला वर्षहरूमा अस्पतालमा विभिन्न नयाँ सेवा थपिएका छन् । धेरै रोगको उपचारका लागि अब बिरामीलाई बाहिर जानुपर्ने बाध्यता घटेको भए पनि विशेषज्ञ चिकित्सकको अभावले सेवा प्रवाह पूर्ण रूपमा व्यवस्थित हुन सकेको छैन ।
उनका अनुसार सय शय्याको अस्पताल घोषणा गरिए पनि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी र उपकरणको व्यवस्थापन नहुँदा स्तरोन्नतिको प्रभाव व्यवहारमा देखिएको छैन । प्रदेश सरकारबाट दरबन्दीअनुसारको जनशक्ति पूर्ति हुन नसक्दा अस्पतालले आफ्नो क्षमता अनुसार सेवा दिन सकेको छैन ।
यता मधेश प्रदेश सरकार भने समस्या प्रति जानकार रहेको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नागेन्द्र साहले अस्पतालमा दरबन्दी भई अन्यत्र कार्यरत चिकित्सक तथा कर्मचारीलाई फिर्ता ल्याउने विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग समन्वय भइरहेको जानकारी दिए ।
प्रादेशिक अस्पताल गौरमा ११ औँ तहको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टको पदसमेत रिक्त छ । नेतृत्व तहकै पद खाली रहँदा अस्पताल व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ ।
रौतहटसहित आसपासका जिल्लाका हजारौँ नागरिकको उपचारको केन्द्र बनेको यो अस्पताल अहिले जनशक्ति अभावको समस्यासँग जुधिरहेको छ । सेवा विस्तारका घोषणा भए पनि आवश्यक स्रोत–साधन र कर्मचारी व्यवस्थापन नहुँदा अस्पतालको क्षमता कागजमै सीमित हुने खतरा बढ्दै गएको छ ।




