वीरगञ्ज । पत्नीको हत्या गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले महोत्तरीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १० बजरङ्ग टोल निवासी रामनारायण दास तत्मा रहेका छन् । उनीमाथि आफ्नी ४२ वर्षीया पत्नी हलसियाकुमारी देवीको हत्या गरेको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार रामनारायणले गत जेठ १४ गते मादक पदार्थ सेवन गरेपछि फलामजन्य हतियार प्रयोग गरी पत्नीमाथि आक्रमण गरेका थिए । घटनामा गम्भीर घाइते भएकी हलसियाकुमारीको मृत्यु भएको थियो ।
घटनापछि फरार रहेका आरोपीलाई महोत्तरी प्रहरीको सहयोगमा शनिबार महोत्तरीको रामगोपाल नगरपालिका क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका रामनारायणविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।






