महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका १२ पडरियास्थित पर्ती टोलमा इनार खन्ने क्रममा एक श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका १३ श्रीनगर निवासी २२ वर्षीय बसन्तकुमार महतो रहेका छन् ।
आइतबार इनारभित्र काम गरिरहेका बेला निस्सासिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार करिब ३६ फिट गहिरो इनार खन्ने क्रममा काठको ठूटो फेला परेको थियो । उक्त ठूटोलाई विद्युतीय आरा (चेनस) मेसिन प्रयोग गरेर काट्ने क्रममा महतो अचानक इनारभित्रै बेहोस भएका थिए ।
घटनालगत्तै उनलाई उद्धार गरी उपचारका लागि सर्लाहीको बयलबासस्थित ईश्वरपुर नगर अस्पताल लगिएको थियो । तर अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
स्थानीय रमेशसिंह कुशवाहाका अनुसार गौशाला नगरपालिकाको बजेटमा वडास्तरीय ठेक्का प्रक्रियामार्फत कृषि सिँचाइका लागि इनार निर्माणको काम भइरहेको थियो । मृतक महतो सोही आयोजनामा दैनिक ज्यालादारी श्रमिकका रूपमा कार्यरत रहेका थिए ।




