सप्तरी । जग्गाधनी पुर्जाको माग गर्दै ९ दिनदेखी राजविराज नगरपालिका कार्यालभित्र रिले अनशनमा बस्दै आएका नगरवासीले सोमबार नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । जग्गाधनी पुर्जा पाउनुपर्ने माग सहित नगरपालिका क्षेत्रमा प्रदर्शन गर्दै नगरपालिका कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका गरेका हुन् ।
यसअघि सरोकारवाला निकायलाई बुझाइएको सात दिने अल्टिमेटम उपर सुनुवाई नभएपछि कार्यालयमा तालाबन्दी गर्नु परेको नगरवासीको तर्फबाट गठित जनआन्दोलन परिचालन समितिका संयोजक खेलानन्द दासले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा सोमबार प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको उपस्थितिमा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविन, नापी कार्यालयका प्रमुख शत्रुधन यादव, भूमी व्यवस्था तथा मालपोत कार्यालयका निमित्त प्रमुख अजय झा, डिभिजन वन कार्यालयका प्रमुख पंकज कुमार मिश्र तथा आन्दोलन परिचालन समितिका पदाधिकारीसहित बसेको बैठकमा आफूहरुको माग सम्बोधन गर्ने विषयमा गम्भिर नदेखिएकोले बैठक बहिष्कार गरी नगरपालिका कार्यालयमा तालाबन्दी गरिएको संयोजक दासले बताए ।
यसअघि जनआन्दोलन परिचालन समितिले गत बैशाख २४ गते जग्गाधनी पुर्जा बिहीन नगरका ५ हजार २ सय परिवारलाई जग्गाधनी पुर्जा प्रदान गर्नुपर्ने माग अघि सार्दै प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, नापी कार्यालय, भूमि सुधार तथा मालपोत कार्यालय र राजविराज नगरपालिका कार्यालयलाई सात दिने अल्टिमेटम सहितको ध्यानाकर्षण पत्र बुझाएको थियो ।
तर, सो समयसीमा सकिएपछि सरोकारवाला निकायले सक्रियता नदेखाएकोले रिले अनशन पश्चात् तालाबन्दीमा नगरवासीले तालाबन्दी गरेको हो ।राजविराजको ७० बिगहा क्षेत्रफलमा राजविराज नगरको स्थापना कालदेखि नै बसोवास गर्दै आएका ५ हजार भन्दा बढी परिवार हालसम्म जग्गाधनी पुर्जा पाउन सकेको छैन् ।
जग्गाधनी पुर्जा पाउन नसकेर समस्या परेका बेला नगरपालिकाबाट पाएको रसिद कै आधारमा बैंक तथा वितिय संस्थामा उक्त जग्गा धितो राखि पाउँदै गरेको ऋण सुविधा पनि विगत ८ वर्ष देखि रोकिंदा नगरवासीलाई झनै समस्या भएको छ ।
यस्तै नगरपालिका स्थापना भएको २०१६ सालदेखि २०७५ साल सम्म उक्त जग्गाको खरिद बिक्री हुँदै आएको, अंशबण्डा, रजिष्ट्रेशन पास तथा बैंकमा धितो राखी ऋण पाउने गरेको थियो । राजविराज नगरपालिकाको मिति २०८२ कार्तिक २८ गते बसेको नगर परिषदको बैठकले समेत जग्गाधनी पुर्जा प्रदान गर्न नापी कार्यालयलाई सिफारिस गरिसकेको छ ।




