रौतहट । रौतहटको गौर–पिपरा सडकखण्ड अन्तर्गत दुर्गा भगवती गाउँपालिका ४ स्थित झाझ पुलमा आइतबार राति एक विद्युत् कर्मचारीमाथि लुटपाट भएको छ । अज्ञात समूहले उनको मोटरसाइकल रोकी लुटपाट गरी फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राजदेवी नगरपालिका ४ निवासी पंकजकुमार यादवको ना ३५ प २९३२ नम्बरको निलो रङको ग्ल्यामर मोटरसाइकल राति करिब ९ बजे लुटिएको हो । यादव गंगापिपरा फ्युज शाखामा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारी हुन् ।
उनी ड्युटी सकेर घर फर्किरहेका बेला झाझ पुल क्षेत्रमा मोटरसाइकल लुटिएको बताइएको छ । घटनाबारे राति १० बजेर २० मिनेटमा इलाका प्रहरी कार्यालय गंगापिपरामा सूचना प्राप्त भएपछि सई जयप्रकाश पाण्डेको नेतृत्वमा टोली घटनास्थलमा परिचालन गरिएको थियो ।
प्रहरीले लुटपाटमा संलग्न व्यक्तिहरू तथा लुटिएको मोटरसाइकलको खोजी कार्य तीव्र बनाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले घटनाको पुष्टि गर्दै मोटरसाइकल र संलग्न व्यक्तिको खोजी भइरहेको जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । स्थानीयवासीले भने गौर–पिपरा–समनपुर सडकखण्ड अत्यन्त व्यस्त मार्ग भए पनि रातिको समयमा पर्याप्त सुरक्षा व्यवस्था नहुँदा आपराधिक गतिविधि बढ्दै गएको गुनासो गरेका छन् ।
झाझ पुल क्षेत्रमा स्थायी प्रहरी बिट स्थापना गरी २४ घण्टा सुरक्षा व्यवस्था गर्नुपर्ने माग पटक–पटक उठे पनि सुनुवाइ नभएको उनीहरूको भनाइ छ । प्रहरीले घटनास्थल इलाका प्रहरी कार्यालय गंगापिपराबाट करिब ३ किलोमिटर दक्षिणतर्फ रहेको जनाउँदै घटनाको अनुसन्धानलाई प्राथमिकताका साथ अघि बढाइएको जनाएको छ ।




