काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीका ईश्वरीप्रसाद गौतमविरुद्ध ५० लाख रुपैयाँ बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ । नवलपरासीको त्रिवेणी गाउँपालिका ७ स्थायी घर भएका गौतमविरुद्ध विशेष अदालत काठमाडौंमा मंगलबार आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार गौतमले आयोगको अनुसन्धानका क्रममा दिएको बयानविपरीत विशेष अदालतमा बकपत्र दिएको पुष्टि भएपछि उनीविरुद्ध थप कानुनी कारबाही अघि बढाइएको हो ।
आयोगको अनुसन्धानबाट ऋण उपलब्ध गराइदिने भन्दै ५० लाख रुपैयाँ घुस लेनदेन भएको प्रकरणमा गौतमको संलग्नता देखिएको जनाएको छ । उक्त प्रकरणमा चन्द्रबहादुर अधिकारीसँग घुस रकम माग गरी लिने कार्यमा गौतमको भूमिका रहेको आरोप लगाइएको छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) अन्तर्गतको कसुरमा ५० लाख रुपैयाँ बिगो कायम गरी सोही बराबर जरिवानाको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ । मुद्दा सम्बन्धी थप कानुनी प्रक्रिया विशेष अदालतबाट अघि बढ्ने आयोगले जनाएको छ।






