धनगढी । कैलालीमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाका छुट्टाछुट्टै स्थानमा आइतबार साँझ अज्ञात पुरुषहरू मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका ९ त्रिवेणीघाटस्थित मोहना नदी किनारमा नाम, थर र ठेगाना नखुलेका एक पुरुष मृत अवस्थामा फेला परेका हुन् ।
त्यसैगरी लम्कीचुहा नगरपालिका ३ बल्चौरस्थित रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको नहरमा पनि एक पुरुषको शव फेला परेको छ । मृत फेला परेका ती पुरुष अन्दाजी ४० देखि ४५ वर्ष उमेरका जस्तो देखिने प्रहरीले जनाएको छ ।
अहिलेसम्म दुवै जनाको पहिचान हुन सकेको छैन । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






