काठमाडौं । भारतको उत्तर प्रदेशस्थित रामपुर जिल्लामा तेलंगाना राज्यबाट करिब १२ करोड भारतीय रुपैयाँ बराबरको सुनचाँदी र नगद चोरी गरी भाग्दै गरेका तीन नेपाली नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पति, उनकी पत्नी र सालि रहेको भारतीय प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट ७ किलो सुन, १ किलो चाँदी र करिब २५ हजार भारतीय रुपैयाँ नगद बरामद गरिएको छ । यो घटना तेलंगानाको साइबराबाद कमिश्नरेट अन्तर्गत गाचीबाउली क्षेत्रको एक सम्पन्न परिवारको घरमा भएको हो ।
उक्त घरमा नेपालबाट आएका कमल, उनकी पत्नी विमला र सालि कल्पना कामदारका रूपमा बस्दै आएका थिए । सुरुवातमा उनीहरूको व्यवहार सामान्य र विश्वासिलो देखिएकाले घरधनी परिवारले पूर्ण भरोसा गरेका थिए । तर समयसँगै उनीहरू घरको दैनिक गतिविधि, आवतजावत र सुरक्षा अवस्थाबारे गहिरो जानकारी लिँदै गए ।
घटनाको दिन घरधनी परिवार बाहिर गएको मौका पारेर ती तीन जनाले घरभित्र राखिएको ठूलो मात्रामा सुनचाँदी र नगद चोरी गरेको आरोप छ । चोरी गरिएको सम्पत्तिको कुल मूल्य करिव १२ करोड रुपैयाँ बराबर रहेको बताइएको छ ।
चोरीपछि तीनै जना फरार भएका थिए र नेपालतर्फ भाग्ने तयारीमा रहेको अवस्थामा उनीहरू भारत–नेपाल सीमातर्फ जाँदै गर्दा रामपुरमा पक्राउ परेका हुन् । रामपुर प्रहरीले चेकिङका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउपछि गरिएको खान तलासीमा चोरी गरिएको भनिएको सम्पूर्ण सामान फेला परेको प्रहरीले जनाएको छ ।
तेलंगाना र उत्तर प्रदेश प्रहरीले संयुक्त रूपमा सञ्चालन गरेको अपरेशनपछि उनीहरू पक्राउ परेका हुन् । तेलंगानाको गाचीबाउली क्षेत्रमा दर्ता भएको चोरी मुद्दाको आधारमा अनुसन्धान अघि बढाइएको थियो ।
रामपुरका प्रहरी प्रमुख सोमेंद्र मीणाका अनुसार, अन्य सम्भावित संलग्न व्यक्तिहरूको खोजी तथा अनुसन्धान जारी छ । साथै, उनीहरूको आपराधिक पृष्ठभूमिबारे जानकारी लिन नेपाल प्रहरीसँग पनि समन्वय गरिने भारतीय सञ्चय माध्यमहरूले उल्लेख गरेको छ । उनीहरूको थर र नेपालको ठेगाना भन्ने खुलाईएको छैन ।






