काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुख, इन्जिनियर र सब-इन्जिनियरसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले उनीहरूले राज्यलाई १ करोड २६ लाखभन्दा बढी नोक्सानी पुर्याएको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले सोमबार दायर गरेको अभियोगपत्रमा सप्तरीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भवन निर्माणमा अनियमितता भएको उल्लेख छ । तत्कालीन कार्यालय प्रमुखसहित पाँच जनालाई प्रतिवादी बनाइएको छ ।
प्रतिवादीहरूमा तत्कालीन कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. प्रभात झा, इन्जिनियर अशोक कुमार सिंह, असिस्टेन्ट सब-इन्जिनियर प्रेम कुमार सिंह तथा राधा कृष्ण निर्माण सेवाका प्रबन्धक कौशल्या कुमारी रजक रहेका छन् ।
अभियोगपत्र अनुसार, राम निर्माण सेवाले २ करोड ८९ लाख ६४ हजार २४१ रुपैयाँमा ठेक्का कबोल गरेको भए पनि उक्त कम्पनीलाई ठेक्का नदिइएको र ४ करोड १६ लाख ६० हजार ५१० रुपैयाँ कबोल गर्ने राधा कृष्ण निर्माण सेवालाई ठेक्का दिइएको पाइएको छ ।
यस प्रक्रियाका कारण राज्यलाई १ करोड २६ लाख ९६ हजार २६८ रुपैयाँ ७१ पैसा अतिरिक्त व्ययभार परेको अख्तियारको दाबी छ । कम मूल्य कबोल गर्ने कम्पनीलाई बेवास्ता गरी महँगो प्रस्तावलाई ठेक्का दिँदा प्रत्यक्ष हानि–नोक्सानी भएको आयोगले जनाएको छ ।
आयोगले आरोपितहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार बिगो बराबर जरिवाना र कैद सजायको मागदाबी गरेको छ । साथै, गलत मूल्याङ्कन प्रतिवेदन तयार पारेको आरोपमा थप सजायको मागसमेत गरिएको छ ।






