सप्तरी । सप्तरीको राजविराज नगरपालिकाको बजार क्षेत्रमा रहेको विटौरी जग्गाको लालपुर्जा माग्दै आन्दोलनरत स्थानीय बासिन्दा र प्रहरीबीच बिहीबार झडप भएको छ । झडपका क्रममा प्रहरीले लाठीचार्ज गर्दा चार जना घाइते भएका छन् भने दुई जना प्रदर्शनकारी पक्राउ परेका छन् ।
आन्दोलन परिचालन समितिका संयोजक खेलानन्द दासका अनुसार विगत २५ दिनदेखि लालपुर्जाको माग राख्दै आन्दोलन गरिरहेका नगरवासीले बिहिबार अनिश्चितकालीन राजविराज बन्दको आह्वान गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले बजार बन्द गराउँदै नेता चोक पुगेपछि प्रहरीसँग तनाव उत्पन्न भएको थियो ।
प्रहरीको लाठीचार्जबाट दिपेन्द्र चौधरी, शंकरप्रसाद गुप्ता, सन्तोष साह र गौरव साह घाइते भएका छन् । घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ ।
यस्तै प्रदर्शनका क्रममा प्रेमसागर गुप्ता र सुरज साहलाई प्रहरीले नियन्त्रणमा लिएको आन्दोलनकारी पक्षले जनाएको छ । प्रहरी हस्तक्षेपको विरोधमा आन्दोलनकारीले बिहिबार नगरभरि थाली बजाउँदै विरोध प्रदर्शन समेत गरेका छन् । हटियास्थित राधाकृष्ण मन्दिर परिसरबाट सुरु भएको थाली जुलुस नगरका विभिन्न क्षेत्रको परिक्रमा गर्दै सम्पन्न भएको थियो ।
विटौरी जग्गाको लालपुर्जा वितरणको माग गर्दै एक साताअघि आन्दोलनकारीले राजविराज नगरपालिकाको कार्यालयमा ताला लगाएका थिए । तर प्रहरीले उक्त ताला बलपूर्वक खोलेपछि स्थानीयवासी थप आक्रोशित बनेका छन् र आन्दोलनलाई थप सशक्त बनाएका छन् ।
स्थानीयका अनुसार राजविराज स्थापना भएदेखि अर्थात् १९९८ सालदेखि नगरको मुख्य सडक तथा आसपासको करिब ७० बिघा क्षेत्रफलको विटौरी जग्गामा पाँच हजारभन्दा बढी परिवार बसोबास गर्दै आएका छन् । दशकौँदेखि बसोबास गरिरहेपनि उनीहरू हालसम्म लालपुर्जाविहीन रहेका छन् ।
उक्त जग्गामा बसोबास गर्ने परिवारहरूले आफ्नै लगानीमा घर, पसल तथा अन्य संरचना निर्माण गरी जीवनयापन गर्दै आएका छन् । उनीहरूले राज्यबाट आफ्नो बसोबासको कानुनी स्वामित्व सुनिश्चित गर्न लालपुर्जा उपलब्ध गराउन माग गर्दै आन्दोलन जारी राखेका छन् ।




