बर्दिया । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका एक जना सहायक हबलदारको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक प्रहरी जवान घाइते भएका छन् । आइतबार बिहान पाँच बजेतिर बा प्र ०३–००१ ख १४१२ नम्बरको ट्रकले लालपुर भन्ने स्थानमा ठक्कर दिँदा सशस्त्रका सहायक हबलदारको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बर्दियाकै बाँसगढी नगरपालिका ५ मोतिपुर घर भएका ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हबलदार तिलक कँडेल रहेका जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका कँडेललाई अस्पताल पुर्याउँना साथ चिकित्सकले मृत घोषणा गरेका हुन् ।
ट्रकको ठक्करबाट सशस्त्र प्रहरी जवान बाँसगढी नगरपालिका ८ ककौराका ३५ वर्षीय दीपक कुमार शाह घाइते भएका छन् । गम्भीर घाइते शाहलाई बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज रिफर गरिएको प्रहरीले जनाएको छ ।
उनीहरू दुवै फर्वाड अपरेटिङ बेस क्याम्प गणेशपुर बर्दियामा कार्यरत थिए । दुर्घटनामा ट्रक चालक मकवानपुरको बागमती गाउँपालिका ५ समरीका ४० वर्षीय निरन्जन दर्जी पनि घाइते भएका छन् । उनको बर्दिया जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अवैध रूपमा भारततर्फ लैजान लागिएका दुई वटा भैँसी र एउटा पाडोलाई सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिने क्रममा दुर्घटना भएको हो । ट्रकको ठक्करबाट एउटा भैँसी पनि मरेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।






